सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा मृत्यु भएका कार्किको नेपालमा अन्त्यस्टि

जापानको तोचिगीसीमा असामयिक निधन भएका शेर बहादुर कार्कीको पार्थिव शरिर नेपाल पठाउन सञ्चालन गरिएको आर्थिक सहयोग संकलन अभियानमा २९ लाख १६ हजार १ सय ६० जापानी येन संकलन भएको छ । मृतक कार्कीको श्रीमतीको अनुरोधमा सुरु गरिएको आर्थिक सहयोग संकलनमा यो रकम जापानवासी नेपालीबाट स्वतस्फुर्त सहयोग भएको हो ।

गत जुनको २२ तारिख बिहान सुतिरहेको अवस्थामा मृत भेटिएका कार्कीको शव नेपाल लैजान आर्थिक अभाव भएपछी उनको श्रीमतीको अनुरोधमा आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको तोचिगी नेपाली कम्युनिटीका संयोजक महेष लुईँटेलले बताएका छन् । जुन २२ तारिखकै दिन दिउँसो तोचिगी नेपाली कम्युनिटीको आकस्मिक बैठक बसी शोकाकुल परिवारलाई तत्काल भईपरी आउने समस्या टरोस भनेर बैठकमा उपस्थित सदस्यहरुबाट तत्काल २ लाख ७५ हजार जापानी येन संकलन भएको लुईँटेलले बताएका छन् ।

त्यसपछी तोचिगी नेपाली कम्युनिटी, एनआरएन तोचिगीका अध्यक्ष सन्तोष घिमिरे र एनआरएन आईसीसीका युवा संयोजक विकास बस्नेत लगायतको पहलमा सुरु गरिएको आर्थीक सहयोग संकलन अभियानमा जम्मा २९ लाख १६ हजार १ सय ६० जापानी येन संकलन भएको थियो । आर्थिक सहयोग संकलन अभियानबाट जम्मा भएको रकम मध्येबाट मृतक कार्कीको शव नेपाल पठाउन १३ लाख ९८ हजार ४ सय रुपैयाँ खर्च भएको थियो ।

खर्च कटाएर बाँकी रहेको रकम १५ लाख १७ हजार ७ सय ६० रुपैयाँ मृतक कार्कीकी साढे २ बर्षिया छोरीको नाममा भविष्यका लागी मुद्दती खातामा वचत गरिदिने निर्णय भएको एनआरएनए आईसीसी युवा संयोजक विकास बस्नेतले बताएका छन् । आर्थिक सहयोग संकलन अभियान पहलकर्ता तोचिगी नेपाली कम्युनिटी, एनआरएनए तोचिगीका अध्यक्ष सन्तोष घिमिरे, एनआरएन आईसीसी युवा संयोजक विकास बस्नेत, तमु धीँ (तोचिगि, गुन्मा, ईबाराकि) लगायत अभियानमा सक्रिय सदस्यहरुको सल्लाहमा सो निर्णय भएको हो ।

आर्थिक अभियान संकलन पहलकर्ताहरुको सल्लाह अनुसार बाँकी रहेको रकम छोरी सुगारिका कार्किको नाममा आमा कल्पनाको समेत सहमति (हस्ताक्षर) चाहिने गरी १५ देखी २० बर्षको लागी (मुद्दती निक्षेप योजना हेरेर)मुद्दती खातामा जम्मा गरिने भएको छ । मृतक कार्कीको आर्थिक अवस्था कमजोर भएकाले भविष्यमा छोरीको उच्च शिक्षा अध्ययनमा केही टेवा पुगोस् भनेर सो निर्णय गरिएको एनआरएनए आईसीसी युवा संयोजक विकास बस्नेतले जानकारी दिएका छन् ।

गत जुन २२ तारिख बिहान आफु सुतिरहेको ओछ्यानमा मृत भेटिएका कार्कीको हृदयघातका कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । मृतक कार्कीकी बृद्ध आमा र श्रीमती कल्पना थापा (कार्की)को ईच्छा अनुसार कार्कीको शवलाई जुन २९ तारिख नेपाल लगिएकोमा ३० तारिख आईतबार ईटहरीमै अन्तिम संस्कार गरिएको थियो ।

नोटः मृतक कार्कीको श्रीमतीको बैंक खातामा जम्मा हुन आएको रकम पासवुक जस्ताको तस्तै अपडेट गरेर राखिएको छ । बैंकमा जम्मा भएको रकम पासबुक अपडेट गर्दा एकमुष्ट हिसावमा देखिएको हुँदा कतिपयको प्राविधिक कारणले नाम खुलेको छैन । आर्थिक सहयोग संकलनमा सहयोग गर्ने सहयोगीदाताको नामावली तल हेर्नुहोला :-

फेसबुकबाट कमेन्ट गर्नुहोस्