सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीय सुन तस्करीको ४ फल्याटमा छापा

ललितपुरमा बसेर सुन तस्करी गर्ने गिरोहको ४ वटा फल्याट भेटिएको छ । ४ दिनको अनुसन्धानपछि गिरोहले सुन तस्करी गर्न भाडामा लिएको चारवटा फल्याट भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताएका छन् ।

ललितपुर प्रहरीले चार ओटै फल्याटमा छापा मारेर दुईवटा सुन गाल्ने मेसिन, डेढ केजी भन्दा धेरै सुन र सुनको गुणस्तर परीक्षण गर्ने मेसिन बरामद गरेको छ । ललितपुर स्थित ताल्छिखेलमा दुई ठाउँमा, पाटन र काठमाडौँको टोखा नगरपालिका–५ मा उनीहरूले भाडामा फल्याट लिएर सुनको कारोबार गरेका हुन् ।

Gold

बरामद सामान सहित कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरिएको छ । आरोपीहरूलाई कानुनी कारबाहीका लागी राजस्व अनुसन्धान विभागमा बुझाइएको एसपी सुवेदीले जानकारी दिएका छन् ।

असार २० मा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ मा २८ वर्षका भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फल्याटमा छापा मारेको थियो । त्यस दिन विभुेतेसहित ५ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभुते, भक्तपुर सूर्यविनायक नगरपालिका–१ बिरुवा बस्ने वर्ष २० को सिद्धान्त चौलागाईं, ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर–८ बस्ने २० वर्षीय यसवन्त सुनार छन् । फल्याटबाट प्रहरीले ५० लाख नगद बरामद गरेको थियो ।

उनीहरूको बयानको आधारमा महाराष्ट्र घर भएर काठमाडौँ–५ टोखा बस्ने २१ वर्षीय विजय सम्पत खिलारी पक्राउ परेका हुन् । खिलारी बस्ने फल्याटबाट प्रहरीले १ केजी सुनको बिस्कुट र १५ वटा साना ढिक्का बरामद गरेको थियो । उनको फल्याटमा ७ लाख ९७ हजार नगद भेटियो ।

प्रहरीले अहिलेसम्म ४ वटा फल्याटबाट डेढ किलो भन्दा बढी सुन र दुईवटा सुन गाल्ने मेसिन बरामद गरेको छ । सुनको गुणस्तर परीक्षण गर्ने मेसिन पनि बरामद गरिएको एसपी सुवेदीले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्