सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

युवतीलाई जबर्जस्ती यौन धन्धा गराउने खोरमा

रोजगारीको आश्वासन दिएर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा सन्ध्या चुँडाल नाम गरेकी युवती पक्राउ परेकी हुन् ।

पक्राउ परेकी सन्ध्या चुँढाल झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी थिईन । चुँडालले अन्य व्यक्तिसँग मिलेर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको प्रहरीको दाबी छ ।

प्रहरीले विराटनगर–११ नयाँ गुद्रीबजारस्थित फल्याटबाट ६ जना महिलालाई उद्दार पनि गरेको छ । उद्दार गरिएका महिलाहरु २१ देखि २३ वर्ष उमेर समूहका छन् । उनीहरु काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १÷१ जना र झापाका २ जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिएका छन् ।

ती महिलालाई होटलमा जागिर दिने भन्दै विराटनगर ल्याएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार चुँडालको समूहले अवैध यौन व्यवसाय चलाइरहेका थिए । होटलमा तथा ग्राहकले भनेको ठाउँमा महिलाहरुलाई यौन व्यवसायका लागि पठाउने गरेका थिए ।

चुँडालको समूहले महिलाहरुलाई भनेको स्थानमा जान नमाने यातना दिने गरेको पाइएको प्रहरीको दाबी छ । उद्दार गरिएका केही महिलाको शरीरमा चोटपटक देखिएको पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चुँडाल र सुनसरीको इनरुवा घर भएका अन्दाजी ३० वर्षीय राजकुमार साहले विराटनगरको नयाँ गुद्रीमा घरको फल्याट भाडामा लिएर महिलाहरुलाई राख्ने गरेका थिए । चुँडाल पक्राउ परे पनि साह भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्