सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बैदेशिक रोजगार विधेयक संसोधनको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार संशोधन विधेयकको मस्यौदा तयार गरेको छ । वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन र वैदेशिक रोजगार व्यवसायीको हकहितको संरक्षण गर्ने प्रावधान वैदेशिक रोजगार ऐन, २०६४ बाट हटाएर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विधेयकको मस्यौदा तयार गरिएको हो ।

विधेयकको मस्यौदाले रोजगारदाता कम्पनीले नेपाली श्रमिक भर्नाका लागि नेपाली दूतावासबाट गरिनुपर्ने मागपत्र प्रमाणीकरण प्रक्रियालाई लचिलो बनाएको छ । म्यानपावर कम्पनीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत निवेदन दिएको १५ दिनभित्र मागपत्र प्रमाणीकरण गर्ने वा नगर्ने निर्णय नगरे दूतावासको जिम्मा रहने गरी मागपत्र प्रमाणीकरण भएको मानिने व्यवस्था मस्यौदामा उल्लेख छ ।

मागपत्र प्रमाणीकरण भइसकेपछि वैदेशिक रोजगार विभागबाट स्वीकृति लिनु नपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । नेपाली दूतावास नरहेको देशको मागपत्र प्रमाणीकरण सिधै वैदेशिक रोजगार विभागबाट नै हुने मस्यौदामा उल्लेख छ । मौजुदा ऐनमा दूतावासबाट मागपत्र प्रमाणीकरण नभएसम्म वैदेशिक रोजगार विभागले स्वीकृति दिन नपाउने व्यवस्था छ ।

Bidesh

एकाघर सगोलका परिवारको सेयर रहेको एकभन्दा बढी संस्थालाई इजाजत नदिइने व्यवस्था हटाउने प्रावधान मस्यौदामा राखिएको छ । एकाघरका परिवारको सेयर एकभन्दा बढी संस्थामा रहँदा श्रमिकमाथि ठगी बढ्न सक्ने भन्दै सरकारले २०७५ मा ऐन संशोधनमार्फत थप गरेको थियो ।

प्रस्तावित विधेयकमा वैदेशिक रोजगार अनुमति लिनका लागि श्रमिकलाई भाषा आवश्यक पर्ने भए भाषा परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र चाहिने व्यवस्था थपिएको छ । श्रमिकको पद, कार्यप्रकृति, कार्यक्षेत्र, तलब तथा अन्य सेवा सुविधा फरक परे विभागले म्यानपावर कम्पनीलाई श्रमिक पठाउन रोक लगाइने व्यवस्था पनि गरिएको छ ।

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि ६ महिनाको तालिम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट गर्नुपर्ने पनि मस्यौदामा उल्लेख छ । व्यक्तिगत रूपमा वैदेशिक रोजगारमा जाने श्रमिकले पेस गरेको कागजातको आधिकारिकताको जवाफदेही श्रमिक आफैं हुने व्यवस्था प्रस्ताव गरिएको छ । व्यक्तिगत ठगीको उजुरीलाई प्रमुख जिल्ला अधिकारीले मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ अनुसार नै अनुगमन तथा कारबाही गर्न सक्ने पनि मस्यौदामा उल्लेख छ ।

श्रम कानुनका विज्ञ सोम लुइँटेल भने वैदेशिक रोजगारीका क्रममा ठगीका परेकाहरूले प्रणालीगत भन्दा पनि न्यायको पहुँचमा भइरहेको समस्यालाई सम्बोधन गर्न जरुरी रहेको बताउँछन् । ‘अहिले प्रणालीगतभन्दा पनि न्यायको पहुँचमा समस्या हो,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा नयाँ प्रयोगमा जानुभन्दा अपराधको अनुसन्धान गर्न प्रहरीलाई दिइनुपर्छ । उच्च अदालतमा वैदेशिक रोजगारको मुद्दा हेर्न अलग्गै बेन्च राख्नुपर्छ ।’

अहिले म्यानपावर कम्पनीबाट भएका ठगीका घटना वैदेशिक रोजगार विभागले हेरिरहेको छ । मेलमिलाप नभएका व्यक्तिगत ठगीका मुद्दालाई भने वैदेशिक रोजगार न्यायाधिकरणले हेर्दै आएको छ । विभागले अनुगमन तथा निरीक्षण गर्दा तीन दिनभित्र विवरण र अभिलेख उपलब्ध नगराउने म्यानपावर कम्पनीलाई तीन महिनासम्म निलम्बन र ५० हजारसम्म सजाय गर्न सक्ने व्यवस्था मस्यौदामा उल्लेख छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार अनुगमन कार्यमा असहयोग गर्ने म्यानपावर कम्पनीलाई विभागले कस्तो कारबाही गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकाले नयाँ व्यवस्था थप्न लागिएको हो । विभागको कारबाहीउपर चित्त नबुझे म्यानपावर कम्पनीले ३५ दिनभित्र वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष पुनरावेदन गर्न सक्ने व्यवस्था मस्यौदामा राखिएको छ । मौजुदा ऐनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमक्ष पुनरावेदन गर्न सक्ने व्यवस्था छ ।

वैदेशिक रोजगार विभागले गरेको कतिपय कारबाहीमा म्यानपावर कम्पनी पुनरावेदनका लागि श्रम मन्त्रालय पुग्ने र निर्णय उल्ट्याउनेसमेत गरिएको विगत छ । अब भने यसलाई अदालती प्रक्रियामा लान खोजिएको हो । यसलाई श्रम कानुनका विज्ञ लुइँटेल सकारात्मक मान्छन् । ‘यसले राजनीतिक तहमा हुने प्रभावलाई नियन्त्रण गर्छ,’ उनी भन्छन् ।

दुई पटक मात्रै पुनः श्रमस्वीकृति लिन पाइने मौजुदा ऐनको व्यवस्था पनि संशोधन गर्न लागिएको छ । विधेयकको मस्यौदामा दूतावासबाटै दुईभन्दा बढी पटक अनुमति लिन पाइने व्यवस्था राखिएको छ । मौजुदा ऐनमा निजी बिमा कम्पनीमार्फत म्यादी जीवन बिमा गर्नुपर्ने व्यवस्था छ । यसलाई प्रस्तावित विधेयकमा हटाउँदै बिमाबापतको रकम कल्याणकारी कोषमा जम्मा हुने भनिएको छ । यो कार्यान्वयन भए कामदारको कल्याणकारी कोष थप बलियो हुनेछ । प्रस्तावित विधेयकले वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग तथा सञ्चालनको दायरा पनि बढाइएको छ ।

गन्तव्य मुलुकमा अंगभंग वा गम्भीर बिरामी भई उपचार गराउँदा गराउँदै नेपाल आएर उपचारकै क्रममा त्यही कारणले मृत्यु भए आर्थिक सहायता उपलब्ध गराउने र बिदामा नेपालमा आएको श्रमिकको करार अवधिभित्र मृत्यु भए आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था मस्यौदामा उल्लेख छ । विद्यमान ऐनमा भने यस्तो विषय उल्लेख छैन, जसले गर्दा करार अवधिभित्र विदेशमा मृत्यु भएको बाहेकका घटनामा आश्रित परिवारहरू राहत र क्षतिपूर्तिबाट वञ्चित रहँदै आएका छन् । उनीहरूले बिमा कम्पनीबाट समेत क्षतिपूर्ति पाउन सकिरहेका छैनन् ।

वैदेशिक रोजगारमा रहेका बेला कुनै किसिमको यौन दुव्र्यवहार वा हिंसामा परी गर्भवती भएका, नाबालक बच्चासहित फर्केका, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका महिला श्रमिकलाई उपचार तथा आर्थिक सहायता प्रदान गर्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ । वैदेशिक रोजगारमा गई अलपत्र, बिरामी भई अशक्त, कोमा, जेलमा रहेका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पनि मस्यौदामा उल्लेख छ । विद्यमान ऐनमा मृत्यु भएका श्रमिकको परिवारलाई मात्रै शैक्षिक छात्रवृत्ति दिने व्यवस्था छ ।

वैदेशिक रोजगार संशोधन विधेयकमा के छ ?
विवरण उपलब्ध नगराउने म्यानपावरलाई तीन महिनासम्म निलम्बन र ५० हजारसम्म सजाय
१५ दिनभित्र मागपत्र प्रमाणीकरण हुन नसकेको अवस्थामा स्वतः प्रमाणीकरण हुने
दूतावासबाटै दुई पटकभन्दा बढी वैदेशिक रोजगार अनुमति लिन पाइने
बिमाबापतको रकम कल्याणकारी कोषमा जम्मा हुने
पीडित महिला श्रमिकलाई उपचार तथा आर्थिक सहायता दिने
वैदेशिक रोजगारमा अलपत्र, बिरामी भई अशक्त, कोमा, जेलमा रहेका सन्ततिलाई छात्रवृत्ति

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS