सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

लगातार १६ औँ पटक जापानको जनसंख्या घट्यो

सरकारी तथ्यांक अनुसार, २०२४ मा जापानी नागरिकहरूको जनसंख्या अघिल्लो वर्षको तुलनामा झण्डै ९०८,००० ले घटेर १२०,६५३,२२७ पुगेको छ। यो संख्या घट्न थालेको लगातार १६ औं वर्ष हो, र १९६८ मा हालको सर्वेक्षण सुरु भएयता कै सबैभन्दा ठूलो गिरावट हो।

हालैको तथ्यांक अनुसार, नीति निर्माताहरू जन्मदर घट्ने र ग्रामीण क्षेत्रहरूमा जनसंख्या घट्दै गएको समस्यालाई रोक्न संघर्ष गरिरहेका छन्। यस्तै, विदेशी बासिन्दाहरूको कीर्तिमानी वृद्धि प्रति चिन्ता बढिरहेका बेला, “जापानी प्रथम” जस्ता नारा दिने विपक्षी दलहरू तर्फ केही मतदाताहरू आकर्षित हुन थालेका छन्।

जनवरी १, २०२५ सम्मको तथ्यांक अनुसार, विदेशी बासिन्दासहित जापानको कुल जनसंख्या १२४,३३०,६९० रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ५५४,००० ले घटेको हो। यो तथ्यांक आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जनसांख्यिकीय सर्वेक्षणमा आधारित हो।

जापानी नागरिकहरूको संख्या घट्दै जाँदा, विदेशी बासिन्दाहरूको संख्या भने बढ्दो क्रममा छ। २०१३ देखि उनीहरूको संख्या समावेश गर्न थालिएयता यो संख्या कीर्तिमानी ३,६७७,४६३ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३५४,०८९ ले (१०.६५ प्रतिशत) बढेको हो।

प्रदेश अनुसार हेर्दा, उत्तरी मुख्य टापु होक्काइडोमा विदेशी बासिन्दाहरूको वृद्धिदर सबैभन्दा धेरै १९.५७ प्रतिशत रहेको छ।

करीब ८५.७७ प्रतिशत विदेशी बासिन्दाहरू कामकाजी उमेरका छन्, जसले घट्दो जापानी जनसंख्याबाट सृजित श्रमिक अभावको पूर्ति गरिरहेका छन्।

तर, बढ्दो जीवन खर्च र केही विदेशी बासिन्दाहरूले प्रणालीको दुरुपयोग गरिरहेको आशंकाबीच, विदेशी आप्रवासन सीमित गर्न प्रतिवद्ध दलहरू – जस्तै सान्सेइतो पार्टी – ले जुलाई महिनामा सम्पन्न हाउस अफ काउन्सिलर्स निर्वाचनमा बढी समर्थन पाएका छन्।

Tokyo, Japan, Sky tree

जापानी नागरिकहरूबीच, २०२४ मा जन्मदर अहिलेसम्मकै कम ६८७,६८९ मात्र रह्यो भने मृत्यु संख्या १.५९ मिलियन पुग्यो, जुन अर्को कीर्तिमानी उच्चांक हो।

पूर्वोत्तर जापानका अकिता र आओमोरी प्रान्तहरूमा जापानी जनसंख्यामा क्रमशः १.९१ प्रतिशत र १.७२ प्रतिशतको गिरावट देखियो, त्यसपछि पश्चिमी जापानको कोचि प्रान्तमा १.७१ प्रतिशतको गिरावट आएको थियो। राष्ट्रिय स्तरमा यो गिरावट ०.७५ प्रतिशत रहेको छ।

टोक्यो जापानको एकमात्र क्षेत्र हो जहाँ जापानी नागरिकहरूको जनसंख्या ०.१३ प्रतिशतले बढेको छ, जुन राजधानीतर्फको ठूलो बसाइँसराइको कारण हो। विदेशी बासिन्दासमेत समावेश गर्दा जनसंख्या टोक्यो र छिमेकी चिबा प्रान्तमा मात्र बढेको देखिन्छ।

उमेरका आधारमा हेर्दा, जापानी जनसंख्यामा ६५ वर्ष वा सोभन्दा माथिका मानिसहरू २९.५८ प्रतिशत छन् भने १५ देखि ६४ वर्षका कामकाजी उमेर समूह ५९.०४ प्रतिशत छन्, जुन अघिल्लो वर्षको तुलनामा थोरै वृद्धि हो।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS