अणुबम आक्रमणको ८० बर्षपछी दोबाटोमा जापान
८० वर्षअघि हिरोशिमा र नागासाकीमा अमेरिकाले गरेको आणविक बम आक्रमणपछि जापान अहिले बढ्दो प्रविधि, आणविक जोखिम, र पुस्तागत सम्झनाको क्षयका बीच संसारलाई आणविक हतियारमुक्त बनाउने नैतिक आवाजलाई कसरी अगाडि लैजाने भन्ने गम्भीर प्रश्नको सामना गरिरहेको छ।
आणविक बम आक्रमणबाट बाँचेकाहरू, जसले विगत केही दशकमा आणविक हतियारविरुद्धको एक प्रकारको ‘ट्याबु’ निर्माण गर्न सहयोग गरे, अहिले औसतमा ८६ वर्ष उमेर पुगेका छन्। जसको अर्थ, यी घटनालाई प्रत्यक्ष रूपमा देखेका व्यक्तिहरूको पुस्ता अन्त्यतर्फ जाँदैछ र त्यसको सट्टा लिने जिम्मेवारी दिनानुदिन कठिन बन्दैछ।
चीन र उत्तर कोरियाको बढ्दो आणविक क्षमताका कारण जापानले अमेरिका मार्फत प्राप्त आणविक प्रतिरोध क्षमतामा तत्कालै निर्भरता हटाउने सम्भावना छैन। यद्यपि जापान आफैंलाई आणविक हतियारविहीन संसार निर्माणको पक्षमा उभिएको राष्ट्रका रूपमा हेर्छ।
यसै साता सम्पन्न ८०औं वार्षिक स्मृति कार्यक्रममा प्रधानमन्त्री शिगेरु इशिबाले शनिबार एक पत्रकार सम्मेलनमा भने, “हामी हाम्रो देश र जनताको सुरक्षा गर्नुका साथै आणविक हतियार उन्मूलनमा पनि काम गर्न प्रतिबद्ध छौं।”
“यी दुईबीच सन्तुलन कसरी कायम गर्ने? मलाई विश्वास छ कि हामीले दुवै जिम्मेवारी पूरा गर्नै पर्छ,” उनले भने।
टोकियोको ताकुसोकु विश्वविद्यालयका सुरक्षा मामिलाका विज्ञ प्रोफेसर हेइगो सातोका अनुसार, युद्धको समयमा आणविक आक्रमण व्यहोरेको एक मात्र देशको नाताले जापानले आणविक निशस्त्रीकरणको प्रयासमा “बहु-आयामिक दृष्टिकोण”बाट विश्वलाई नेतृत्व दिनु पर्छ।

तस्बिर: क्योदो
संयुक्त राष्ट्रसंघको आणविक हतियार निषेध सन्धिमा आणविक हतियार भएका देशहरूको समर्थन नभएको, र आणविक अप्रसार सन्धि (NPT) समेत चापमा परेको अवस्थामा यस्तो दृष्टिकोण आवश्यक भएको उनले जनाए। उदाहरणका लागि, जुन महिनामा अमेरिका द्वारा इरानमाथि गरिएका हवाई आक्रमणले त्यसको आणविक कार्यक्रमलाई क्षति पुर्याएपछि, इरानले एनपीटीबाट बाहिरिने धम्की दिएको थियो।
“हामी आणविक प्रतिरोधका कुरा मात्रमा पनि अड्किनु हुँदैन, न त आणविक निषेध सन्धिमा मात्र केन्द्रीत हुनु पर्छ,” सातोले भने। “यसको सट्टा, आणविक अप्रसार रोक्ने व्यवस्था सुदृढ गर्नु वा आणविक हतियारलाई अस्वीकार गर्ने अन्तर्राष्ट्रिय सामाजिक आन्दोलनको प्रवर्द्धन गर्नुजस्ता उपाय पनि अपनाउन सकिन्छ।”
जब आणविक हतियार भएका राष्ट्रहरूले युक्रेनमाथि रुसको आक्रमण, मध्यपूर्वको द्वन्द्व र अन्य भू-राजनीतिक तनावबीच आफ्ना हतियारहरूलाई आधुनिकीकरण गर्दैछन्, भविष्यमा कृत्रिम बौद्धिकता (AI) को उपयोगले आणविक निर्णय प्रणालीमा थप जटिलता ल्याउन सक्छ।
सन् २०१७ मा नोबेल शान्ति पुरस्कार विजेता संस्था ‘International Campaign to Abolish Nuclear Weapons’ (ICAN) की मेलिसा पार्केले चेतावनी दिइन् कि एआईले मानवको निर्णय क्षमताभन्दा अगाडि बढेर काम गर्न थालेमा संसार अझै खतरनाक आणविक युगतर्फ धकेलिनेछ।
“हामीलाई चाहिन्छ कि विश्वका नेताहरू हिबाकुशाहरूको अनुभव सुुनून्, जसले आणविक हतियारले मानिसमा पार्ने वास्तविक प्रभावबारे बताएका छन्,” पार्केले भनिन्। “तर नेताहरू त आणविक प्रतिरोध र हतियारबारे धेरै अमूर्त (abstract) भाषामा कुरा गर्छन्। यथार्थ भनेको हिबाकुशाहरूले सुनाएका कुराहरू नै हो।”
जीवित प्रत्यक्षदर्शीहरूको साक्षीहरू समयसँगै अझ महत्त्वपूर्ण बन्दै जाँदा, हिरोशिमा र नागासाकी सहर सरकारले भविष्यका पुस्तालाई “कथावाचक”को रूपमा तालिम दिने प्रयास गर्दै आएका छन्, जसले ती कथाहरू अगाडि बढाउन सकून्।
तर प्रोफेसर सातो यी प्रयासहरू प्रभावकारी छन् भनेर निश्चित छैनन्। “भविष्यका कथावाचकहरू भनेको अन्ततः कसैको कथालाई दोहोर्याउने हो, जुन टेलिफोनको खेल जस्तै हुन्छ,” उनले भने। “टेलिफोनको खेलमा जति अगाडि बढ्दै जान्छ, सन्देश त्यति नै विकृत वा कमजोर बन्दै जान्छ।”
नागासाकीमा विस्फोटबाट बाँच्न सफल हजुरबुबाका नाति मित्सुहिरो हयाशिदाले भने इतिहासप्रतिको गहिरो बुझाइ, विशेषगरी दोस्रो विश्वयुद्धअगाडि र त्यसको क्रममा जापानले गरेका आक्रमणहरूलाई बुझ्न सक्ने क्षमता युवाहरूमा विकास गरेपछि मात्र शान्तिका लागि काम गर्न प्रेरणा मिल्छ।
“हामीले आणविक बम आक्रमणलाई पृथक घटनाको रूपमा मात्र व्याख्या गर्नु हुँदैन,” हयाशिदाले भने, “बरु त्यो युद्ध किन भयो, र युद्धपछिको जापानी समाजमा कस्तो आत्मसमीक्षा भयो भन्ने कुरा पनि बुझाउनुपर्छ।” उनले २०२३ मा ‘Peace Education Lab Nagasaki’ स्थापना गरेका थिए।
गत वर्ष जापानको प्रमुख आणविक बम पीडित समूह ‘Nihon Hidankyo’ लाई नोबेल शान्ति पुरस्कार दिइएपछि नागरिक आन्दोलन र व्यक्तिगत अभियन्ताहरूमा त उत्साह बढेको देखिएको छ, तर सरकारको नीतिमा भने खासै परिवर्तन आएको छैन।
९३ वर्षीय तेहरूमी तानाका, जो लामो समयदेखि उक्त समूहको अगुवाइ गर्दै आएका छन्, भन्छन्, “सरकार भनेको लोकतन्त्र हो — त्यो जनताको इच्छाको प्रतिबिम्ब हो।”
“यदि सरकार आणविक प्रतिरोधको नीतिलाई समर्थन गर्छ भने, त्यसको अन्तिम जिम्मेवारी नागरिकहरूकै हो,” उनले शुक्रबार नागासाकीमा आयोजित कार्यक्रममा भने।
तनाका, जो १३ वर्षको उमेरमा बम विस्फोटको साक्षी बनेका थिए, आफ्नो जीवनको अन्त्यमा जापानले आणविक निषेध सन्धिमा हस्ताक्षर गरुन् र आणविक हतियार उन्मूलनतर्फ ठोस कदम चालियोस् भन्ने चाहन्छन्।
“यदि हामी त्यस दिशामा कुनै बाटो देख्न थाल्यौं भने, म शान्त मनले बिदा हुन सक्छु,” उनले भने।
स्रोतः KYODO, JAPANTODAY








फेसबुकबाट कमेन्ट गर्नुहोस्