सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मस्क र अल्टम्यानबिच सामाजिक सञ्जालमा झगडा

सिलिकन भ्यालीका दुई ठूला हस्ती, एक्सएआईका संस्थापक एलन मस्क र ओपनएआईका प्रमुख साम अल्टम्यानबीचको पुरानो बाझाबाझ फेरि बल्झिएको छ । विभिन्न विषयमा एकअर्कालाई खेदो खनिरहने र प्रविधि क्षेत्रमा प्रभुत्वको प्रतिस्पर्धामा रहेका यी दुईबीच यो पटकको झगडा एप्पलको एपस्टोरको ¥यांकिङ विधिलाई लिएर सुरु भएको हो ।

एप्पलले ओपनएआईलाई एक साझेदारका रूपमा अनुचित फाइदा पु¥याएको मस्कले आरोप लगाएका छन् भने यसलाई एप्पल र अल्टम्यान दुवैले खण्डन गरेका छन् । मस्क र अल्टम्यानबीचको व्यक्तिगत आरोप–प्रत्यारोपले सामाजिक सञ्जालमा अहिले ठूलो चर्चा पाएको छ । दुवैले एकअर्कालाई एक्समै खुला रूपमा चुनौती दिएका छन् । यो विवाद गत सोमबार सुरु भएको थियो ।

मस्कले ‘ओपनएआईबाहेक अन्य कुनै पनि एआई कम्पनीका लागि एप्पलको एपस्टोरमा नम्बर १ स्थानमा पुग्नु असम्भव रहेको’ भन्दै एप्पलले ‘एकाधिकारविरुद्धको कानुन स्पष्ट उल्लंघन’ गरेको आरोप लगाएका थिए । मस्कले एक्सएआई एप्पलविरुद्ध तत्काल कानुनी चुनौती दिनेगरी कदम चाल्ने घोषणा पनि गरेका छन् । एप्पलको नियमले च्याटजीपीटीलाई अनुचित रूपमा फाइदा पु¥याएको र आफ्नो च्याटबट ग्रोकलाई बेवास्ता गरिएको उनको दाबी छ ।

Elon mosk and altman

अल्टम्यानले त्यसमा तुरुन्त प्रतिक्रिया जनाउँदै मस्कको दाबीप्रति कटाक्ष गरेका थिए । ‘मस्कले एक्स (तत्कालीन ट्वीटर) लाई आफ्नो व्यक्तिगत फाइदाका लागि र आफ्ना कम्पनीहरूलाई फाइदा पु¥याउनुका साथै आफ्ना प्रतिस्पर्धीहरूलाई घाटा हुने गरी, चलाखीपूर्ण ढंगले प्रयोग गर्छन् भन्ने मैले सुनेको छु,’ अल्टम्यानको भनाइ छ, ‘यो कुरा थाहा हुँदाहुँदै उनले एप्पलमाथि लगाउन खोजेको आरोप हास्यास्पद छ ।’ मस्कका ट्वीटहरूलाई एआईद्वारा बुस्ट गरिने आरोपबारे उल्लेख भएको एउटा रिपोर्टको लिंक पनि अल्टम्यानले पोस्ट गरेका छन् ।

सामाजिक सञ्जालमा आएका अल्टम्यानका प्रतिक्रियाबाट थप रुष्ट हुँदै मस्कले गालीको शैलीमा उत्तर दिएका छन् । ‘तिम्रो वाहियात एक्स पोस्टमा ३० लाखभन्दा बढी भ्यु आएका छन्, यसले तिमीलाई झूटो देखाउँछ,’ मस्कको भनाइ छ, ‘मसँग तिम्रो भन्दा ५० गुणा बढी फलोअर भए पनि मेरा धेरै पोस्टमा यत्रोबिघ्न भ्यु आउँदैन ।’ गतिलोसँग आरोप लगाउने सीपसमेत नभएको भन्दै मस्कले अल्टम्यानको खिसी गरेका छन् ।

विवाद चर्किँदै गएपछि मस्कले अल्टम्यानकी बहिनी आनलाई समेत मुछेर ‘सामले उनलाई दुव्र्यवहार गरेका थिए’ भन्दै अत्यन्तै व्यक्तिगत टिप्पणी गरे थिए । गएको जनवरीमा आन अल्टम्यानले दाजु सामविरुद्ध यस्तो आरोप लगाएकी थिइन् । साम र उनकी आमाले समेत ती आरोपलाई कडा र स्पष्ट रूपमा खण्डन गरेका थिए । आन मानसिक रोगबाट गुज्रिरहेको उनीहरूको भनाइ थियो ।

यो आरोप–प्रत्यारोपबीच मस्कको आफ्नै एआई प्लाटफर्म ग्रोकले भने अल्टम्यानको पक्षमा वकालत गरेको घटना थप रोचक बन्न पुग्यो । ग्रोकले एप्पलविरुद्ध मस्कको दाबी कमजोर भएको भन्दै केही उदहारणसमेत पेस गरेको थियो । सन् २०२५ मा डिपसिक र पप्र्लेक्सिटी एआईजस्ता एपहरू पनि एपस्टोरमा नम्बर १ स्थानमा पुगेको तथ्य ग्रोकले स्मरण गराएको थियो । मस्कले आफ्ना पोस्टलाई जतिसक्दो धेरै एकाउन्टसम्म पु¥याउन एक्सको एल्गोरिदम परिवर्तन गरेको पुराना रिपोर्टहरूलाई पनि उल्लेख गर्दै ग्रोकले मस्कको दाबीलाई पाखण्ड भएको संज्ञासमेत अघि सा¥यो ।

विवाद अझै बढाउने गरी, ओपनएआईको च्याटजीपीटीले आफ्नो आधिकारिक एक्स एकाउन्टमा ग्रोकको पोस्टलाई ‘राम्रो बट’ भन्दै प्रशंसा ग¥यो । मस्कले त्यसमा जवाफ दिँदै च्याटजीपीटीलाई ‘तिमी पनि राम्रा छौ’ भन्ने आशयसहित एउटा स्क्रिनसट पोस्ट गरे । उक्त स्क्रिनसटमा मस्कले अल्टम्यानको च्याटजीपीटीलाई आफू र अल्टम्यानमध्ये को बढी विश्वसनीय छ ? भन्ने प्रश्न गर्दा च्याटजीपीटीले मस्क भन्ने उत्तर दिएको देखिन्छ । सो स्क्रिनसट पोस्ट गर्दै मस्कले लेखेका छन्, ‘लौ, हेर्नुहोस् ।’

यी सबै व्यक्तिगत कटाक्षको पछाडि मस्कको मुख्य गुनासो एप्पलको ‘मस्ट–ह्याभ एप्स’ सूची र ‘टप फ्री एप्स’ चार्टसँग जोडिएको छ । त्यहाँ च्याटजीपीटी प्रमुख रूपमा देखिन्छ तर ग्रोक छैन । रोयटर्सले सेन्सर टावरको डेटालाई उद्धृत गर्दै जनाएअनुसार अहिले अमेरिकामा आइफोनका निःशुल्क एपहरूमध्ये च्याटजीपीटी पहिलो स्थानमा छ । ग्रोक पाँचौं र गुगलको जेमिनाई ५७ औँ स्थानमा छ ।

मस्क र अल्टम्यानबीचको व्यक्तिगत झगडा सन् २०१६÷१७ देखिकै हो । सुरुमा दुवै जनाले अरू संस्थापकहरूसँग मिलेर ओपनएआई स्थापना गरे पनि पछि स्वामित्व विवाद उठेपछि मस्क बाहिरिएका थिए । त्यसयता मस्कले ओपनएआईमाथि निरन्तर प्रश्न गर्ने र अल्टम्यानको खुला रूपमै आलोचना गर्दै आएका हुन् ।

एप्पलले ग्रोक वा एक्सलाई प्रवद्र्धन नगरेर ‘राजनीतिक खेल खेलेको’ मस्कको आरोप छ । सन् २०२४ को जुनमा एप्पलले ओपनएआईसँग गरेको साझेदारीका कारण यस्तो भएको मस्कले दाबी गरेका छन् । उक्त साझेदारीपश्चात् एप्पले आइफोन, आईप्याड र म्याकजस्ता आफ्ना डिभाइसहरूमा च्याटजीपीटी उपलब्ध गराएको थियो ।

एक्स एआई र ओपनएआई एउटै जेनेरेटिभ एआई बजारमा प्रभुत्वको दौडमा छन् । यसमा अहिले ओपनएआई अगाडि देखिएको छ । झन्डै ५० करोड सक्रिय प्रयोगकर्ता र लगभग ३ खर्ब अमेरिकी डलर बजार मूल्य अनुमान गरिएको ओपनएआई प्रमुख रूपमा एक्स प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्ने र सानो बजार मूल्यसँगै आम्दानीमा पनि पछि छ । एप्पलसँग एक्समा विज्ञापन, एपस्टोरको आम्दानी र नियमलगायत विभिन्न विषयमा कटु आलोचक रहँदै आएका मस्कले यी दुई कम्पनी मिलेर अगाडि बढेपछि झनै खुला रूपमा प्रतिरोधमा उत्रिने गरेका हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS