सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

वीरगञ्ज महानगरपालि भित्र फैलियो हैजा

वीरगञ्ज महानगरपालिका भित्र समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिएको छ । समुदायस्तरमा फैलिए पनि अहिलेसम्म हैजा कहाँबाट कसरी फैलियो भन्ने स्रोत भने पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी बढ्दै गएका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला परेको जानकारी दिएका छन् । उनले भनेका छन्–‘आइतबार बेलुकी ८ः०० बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए । सोमबार बिहानसम्म थप ८ जना हैजाका सङ्क्रमित भेटिएका छन् ।’

अहिलेसम्म १०३ जना विभिन्न अस्पतालमा भर्ना भएर उपचार भइरहेका छन् । ठाकुरले भनेका छन्–‘हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन । विश्व स्वास्थ्य सङ्गठन लगायतका प्रतिनिधिले आइतबारदेखि यहाँको पानीको परीक्षण लगायतका काम गरिरहेका छन् । सम्भवत् आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौँ ।’

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिएका छन् । प्रवक्ता सिंहले हैजाको महामारीसँगै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गरे ।

प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवत् आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिए । नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमण देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा तीन जना कलेरा सङ्क्रमित बिरामी भेटिएका छन् ।

त्यस्तै वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्पताल, मङ्गलम प्याथोलोजीमा दुई–दुई जनाको दरले आठ जना हैजा÷कलेरा सङ्क्रमित बिरामी भेटिएका छन् । थप आठ जना बिरामी सोमबार बिहान थपिएका छन्, तर ती कुन अस्पतालमा परीक्षण गरिएको हो भन्ने विवरण खुल्न सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS