सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कार्यभार सम्हाले नवनियुक्त आईजीपी खापुङ्गले

गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा दुवाडीले नवनियुक्त आईजीपी खापुङलाई दज्र्यानी प्रदान गरेका हु्न् ।

१३ भदौको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपीमा नियुक्ति गरेको थियो । आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधिबाट अवकासमा जाने भएपछि खापुङलाई बिहीबार (१९ भदौ)बाट लागू हुने गरी प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।

दज्र्यानी कार्यक्रमपछि सम्बोधन गर्दै नवनियुक्त आईजीपी खापुङले प्राप्त जिम्मेवारीलाई निष्ठापूर्ण रूपमा निर्वाह गर्ने बताएका छन् । उनले प्रहरी जस्तो पवित्र संगठनमा आफू स्वेच्छाले रोजेर प्रवेश गरेको भन्दै उनले हरेक जिम्मेवारीलाई निष्पक्ष र निष्ठापूर्ण रुपमा सम्पादन गर्ने बताएका छन् ।

दज्र्यानी प्रदानपछि गृह मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय पुगेर खापुङले पदभार सम्हालेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मातहतका प्रहरी अधिकारी तथा जवानहरुलाई निर्देशन दिँदै नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गैरव्यावसायिक प्रहरीविरुद्ध शून्य सहनशीलताको नीतिअनुसार कारबाही गरिने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा निर्देशन दिंदै खापुङले भने, ‘गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीविरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागु गर्न संगठन कटिबद्ध छ ।’

त्यस्तै योग्यतामा आधारित पद्धति र निष्पक्ष प्रक्रियामा प्रहरी कर्मचारीको वृत्तिविकासको लागि आवश्यक थप मापदण्डहरू निर्माणमा लगिने पनि उनले बताएका छन् ।

सम्बोधनका क्रममा उनले संगठनको दीर्घकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवद्र्धनका लागि नेतृत्व तहदेखि तल्लो तहसम्मका कर्मचारीहरूमा सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व आवश्यक रहेको चर्चा गरेका छन् ।

सांगठनिक सुदृढीकरणका लागि सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावना र भ्रातृत्वभावका साथ आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने उनले बताएका छन् ।

प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक खापुङले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिएका थिएका छन् ।

खापुङले फौजदारी न्याय प्रणालीको प्रमुख अंगको रूपमा नेपाल प्रहरीले देशव्यापी सञ्जालमार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका क्रियाकलापमा राज्यको पहिलो प्रतिनिधिको रूपमा उपस्थिति देखाई आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताए ।

आम नागरिकको अपेक्षालाई शिष्ट आचरण एवं व्यवहारका साथ सम्बोधन गर्दै आम नागरिकको हृदयमा आस्था, विश्वास र भरोसा कायम राख्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

खापुङले सामाजिक सञ्जालमा देखिएका अवाञ्छित गतिविधि, वित्तीय अपराध, साइबर अपराध, लागुऔषध, मानव बेचबिखन, आर्थिक अपराध जस्ता जटिल र संगठित अपराधहरूको अनुसन्धानमा अझ संवेदनशील, विवेकशील र कानुनी रूपमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने बताएका छन् ।

२०५२ कात्तिक २७ मा निरीक्षकबाट सेवा प्रवेश गरेका खापुङ हालको कानुन यथावत रहे प्रहरी नेतृत्वमा २ महिना ८ दिन रही ३० वर्षे सेवा अवधिका कारण २०८२ कात्तिक २७ मा अवकासमा जाने छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS