उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यू जारी
नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यू जारी राखेको छ । तर बिहीबार भन्दा केही खुकुलो बनाएको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
त्यस्तै शुक्रबार बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरेको निर्देशनालयले जनाएको छ ।
अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने उल्लेख गरिएको छ ।

निषेधाज्ञा र कफ्र्यू अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका साथै अत्यावश्यक सेवा तथा सामान (दमकल, शववाहन, पानी, खाद्यान्न, दूध तरकारी, औषधि) का गाडीहरू सञ्चालन हुन सक्नेछन् ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले परिचय पत्र देखाएर कार्यालय जान सकिने उल्लेख छ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर आवतजावत गर्न सकिने पनि सेनाले जानकारी दिएको छ ।
अरू सहायता चाहिए सेनासँग सम्पर्क गर्न सकिने पनि जनाइएको छ । यसअघि बिहीबार बिहान १० बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा थियो ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्