मन्त्रीको सेक्स टेपले भारत सरकारमा तहल्का
भारतका महिला एवम् बाल विकासमन्त्री सन्दिप कुमारको यौन काण्डले नयाँदिल्ली सरकारमा तहल्का मच्चिएको छ । उनको यौन सिडी सार्वजनिक भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार सन्दीप कुमारलाई पदबाट हटाएका छन् ।
दिल्लीका मुख्यमन्त्री केजरीवालले ट्वीट गर्दै एक सिडी आफूसम्म आइपुगेको बताएका छन् । अपुष्ट खबरहरुका अनुसार उक्त सीडीमा सन्दीप कुमार दुई महिलासँग आपत्तिजनक अस्वथामा देखिएका छन् ।
सिडी पाएको आधा घन्टामा नै सन्दीपकुमारलाई मन्त्रीबाट हटाउने निर्णय भएको उपमुख्यमन्त्री मनीष सिसोदियाले बताएका छन् । उनले भनेका छन–‘आम आद्मी पार्टी नैतिकवादहरुको पार्टी हो र कुनै पनि भ्रष्ट, अपराधी वा चरित्रमा दाग लागेकाहरुलाई पार्टीमा स्वीकार्य छैन ।’
चुनाव प्रचार अभियानको क्रममा सन्दीप कुमारले आफूलाई एक स्वच्छ छविको नेता भएको दाबी गर्ने गरेका थिए । यहाँसम्म कि उनले एक अन्र्तवार्तामा त आफूले हरेक बिहान आदरपूर्वक पत्नीको पाउ छुने गरेको समेत बताएका थिए ।
गत ८ मार्चमा अन्र्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा दिल्लीमा आयोजित एक भव्य कार्यक्रममा उनले आफ्नो सफलताको श्रेय पत्नी ऋतुलाई दिएका थिए । सन्दिपले सडकदेखि मन्त्री पदसम्मको यात्रामा आफ्नी पत्नी सधैं प्रेरणाको स्रोत बनेको बताएका थिए ।
सोही कार्यक्रममा नै उनले हरेक बिहान उठेर आफ्नी पत्नीको पाउ छुने गरेको बताएका थिए । उनको सो अभिव्यक्तिले कार्यक्रमस्थल तालीले गुञ्जायमान भएको थियो । सन्दिपले खुट्टा ढोगेपछि पत्नीले उनलाई सधैं सफल रहने आशीर्वाद दिने गरेको समेत रहस्य खोलेका थिए ।
दिल्लीको दयाल सिंह कलेजमा पहिलो पटक भेट भएका सन्दिप र ऋतुको ८ वर्षको प्रेमपछि सन् २०११ अप्रिल ५ मा विवाह भएको थियो । सन्दीप निकै गरिब परिवारका भएकाले ऋतुको परिवार विवाहका लागि सुरुमा राजी थिएनन् । ऋतु एक आर्मी अफिसरकी छोरी थिइन् ।
अश्लिल सीडी सार्वजनिक भएदेखि नै सन्दीप कुमार भूमिगत भइसकेका छन् । यस सम्बन्धमा उनको तर्फबाट केही प्रतिक्रिया आएको छैन । उनको कार्यालयको अनुसार उनी आफ्नो बिरामी आमालाई भेट्न गाउँ गएको जनाईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्