रिसाहा डाक्टर, छुच्चा कर्मचारी, भद्रगोल टिचिङ
बिहान ११ बजे । बर्थिङ सेन्टरमा एक कर्मचारी सफा गर्दै थिइन् । आफ्नो काम सुरु नगर्दै उनी बर्बराउन थालिन्, ‘जति सफा गरे पनि हुँदैन । कति फोहोर गर्न सकेका ?’ उनी कामभन्दा बढी रिसाउन थालिन् । त्यही बेला तातो सुप लिएर आइपुगे एकजना कुरुवा ।
कर्मचारीले उनीमाथि रिस पोखिन् । ‘सफा गर्न लागेको, आँखा देख्नुहुन्न ?’ हातमा सुप लिएका कुरुवा अलमल परे । ‘सफा गरिनसकेसम्म कोही भित्र जाने होइन,’ उनले आदेशको लवजमा भनिन् ।
कुरुवा ढोकैमा कुरिरहे । १५ मिनेट बित्यो । सुत्केरी श्रीमतीलाई सुप ल्याएको भन्दै उनी अनुनय गरिरहन्थे । कर्मचारी सुन्दिनथिन् । सुप सेलायो । फेरि तातो सुप लिन कुरुवा क्यान्टिनतर्फ दौडिए ।
बिहान ९ः३० बजे । हाडजोर्नी विभागको कोठा नम्बर ७ का डाक्टरले बिरामीलाई हकारपकार पारे । उनको पालो ४ नम्बरमा रहेछ । बोलाएको समयमा पुग्दा डाक्टरले २२ नम्बरका बिरामी जाँचिरहेका थिए । बिरामीले सुस्तरी भने, ‘सर मेरो पालो चौथो नम्बरमा हो । तपाईंले भनेकै समयमा आएँ । तर तपाईं २२ नम्बरको बिरामी जाँचिरहनु भएको छ !’
![](https://everestwall.com/wp-content/uploads/2017/07/teaching-hospital.jpg)
एप्रोन नलगाई बिरामी जाँचिरहेका ती डाक्टरले बिरामीलाई आँखा तरे । नाकको पोरा फुलाए । झम्टिँउलाझैँ गरे । त्यसपछि कड्किए, ‘उता बस्नुस् । धेरै नकराउनुस् । अहिले आउँछ पालो ।’ बिरामी अकमक्क परे । उनले नम्र हुँदै फेरि भने, ‘हामीसँग यसरी नसिराउनुस् न सर । हामी उपचार गर्न आएका हौं ।’
डाक्टरको रिस अझ उम्लियो । ‘ए दिदी । यता आउनुस् न’, उनले ढोकामा कार्यरत महिला कर्मचारीलाई ठूलो स्वरमा बोलाए । त्यसपछि बिरामीका पुर्जा राम्रोसँग आफ्नो टेबलमा राख्न निर्देशन दिए ।
आमाको उपचार गर्न पुगेकी सिन्धुपाल्चोककी सिर्जना वाइबा परिसरमा भेटिइन् । ६ महिनाअघिको घटना उनले सुनाइन् । पाठेघरको समस्या लिएर उनी डाक्टरको कार्यकक्षमा पुगेकी थिइन् । त्यसबेला डाक्टर आइपुगेका थिएनन् । उनले आफ्नो झोला झुक्किएर डाक्टर बस्ने कुर्सीमा राखिन् ।
त्यहीबेला डाक्टर आइपुगिन् । ‘यो झोला कसको ?’ डाक्टर चिच्याइन् । सिर्जनाले झोला कुर्सीबाट निकालिन् । त्यसदिनको तीतो अनुभव उनले सम्झिइन्, ‘डाक्टरले हकार्दै बाउआमाले संस्कार सिकाएनन् भन्दै गाली गरिन् । मैले सरी भनेँ । तर उनको रिस मरेन ।’ उनै डाक्टरले सिर्जनालाई जाँचिन् । सिर्जना भन्छिन्, ‘मेरो चित्त दुख्यो । त्यो डाक्टरलाई मैले आफ्नो समस्या भन्नै सकिनँ ।’
सुत्केरी छोरीको कुरुवा बसिरहेकी नेपालगञ्जकी निर्मला सुवेदीलाई पनि डाक्टरले हकारे । भन्छिन्–‘यहाँका डाक्टर र कर्मचारी झर्कोफर्को गर्छन् । साहै्र दुःख लागिरहेको छ । यो अस्पतालमा कहिल्यै आउन नपरे हुन्थ्यो भन्ने लागिरहेको छ ।’
![](https://everestwall.com/wp-content/uploads/2019/01/teaching-hospital-bachhalai-tel-lagaididai-1024x683.jpg)
रिपोर्ट लिने काउन्टर नम्बर १३ का कर्मचारी, रेडियोलोजी विभागका कर्मचारी पनि बिरामीसँग रिसाइरहेकै थिए । प्रसूति वार्डअगाडि एक जना कर्मचारी एक महिलालाई थर्काउँदै थिए, ‘एकचोटी भनेपछि लाग्दैन ? दशचोटी भन्नुपर्छ ?’ अस्पतालका कार्यालय प्रमुख अधिकारी भन्छन्, ‘सबै डाक्टर रिसाउँदैनन् । कतिपयको मानवीय स्वभाव पनि हुनसक्छ ।’
इन्डोस्कोपी गराउँदा समय लिनुपर्छ । कर्मचारीले पहिले बिरामीको ठेगाना सोध्छन् । त्यसपछि अत्याउँदै भन्छन्, ‘१५ दिनभन्दा अगाडि तपाईंको पालो आउँदैन ।’ उपत्यका बाहिरबाट आएका बिरामी आत्तिन थाल्छन् । त्यसपछि त्यहाँका कर्मचारीले उपाय सुनाउँछन्, ‘नारायणगोपाल चोक नपुग्दै पश्चिमपट्टि क्लिनिक छ । त्यहाँ जानुस् आजै हुन्छ ।’ सिन्धुलीका डम्बरबहादुर तामाङले भने, ‘यहाँ गर्दा सात दिन लाग्छ रे । बाहिर इन्डोस्कोपी आजै हुन्छ भने, त्यतै जाँदैछु ।’
नवीन पाण्डेका सहकर्मी गतहप्ता मोटरसाइकल दुर्घटनामा परे । घाइतेलाई लिएर रातको १२ बजे उनी टिचिङ अस्पताल पुगे । टाउकोबाट भलभल्ती रगत बगिरहेको थियो । इमर्जेन्सी वार्डमा दुई जना मात्रै डाक्टर थिए । मिलन डाक्टर पर्खिरहे । डेढ घन्टा कुर्दा पनि नआएपछि उनी घाइतेलाई लिएर निजी अस्पताल गए ।
प्रशासनिक प्रमुख अधिकारी टिचिङमा १५ सय कर्मचारी र करिब ४ सय डाक्टर रहेको बताउँछन् । अस्पतालमा चाप बढी भएपनि आइसकेका बिरामीलाई बाहिर पठाउने नियत नभएको उनको दाबी छ । भन्छन्–‘डाक्टरहरुले बिरामीलाई बाहिर उपचार गराउन पठाएको थाहा पाए कारबाही गर्छौं ।’
बिहान ६ बजे टोकन खुल्छ । ८ः१५ बाट टिकट वितरण सुरु हुन्छ । टिचिङको परिसरमा बुधबार बिहान ६ बजे पुग्दा दुई÷चार जना मात्रै आइपुगेका थिए । टिकट काउन्टर खुल्यो । टिकट दिनेले त्यसपछि कहाँ जाने स्पष्ट भनेनन् । एक बिरामीले आफ्नो उमेर ३० वर्ष बताए । तर टिकटमा देखियो ४० वर्ष । उनी अलमल भए । त्यसपछि सोध्न पुगे सहायता कक्षमा ।
यो कक्ष बेलाबेलामा खाली हुने गर्छ । बिहान ८.३० बजे खाली थियो । आश्चर्य लाग्दो त के छ भने सहायता गर्न बसेकाहरू टिचिङका कर्मचारी होइनन् । एनजीओकर्मी हुन् । सहायता कक्षमा ‘बसुन्धारा हेल्पिङ ह्यान्ड्स’ का तीन कर्मचारी कार्यरत छन् । उनीहरु कहिले युट्युबमा भिडियो हेरिरहेका हुन्छन्, कहिले फेसबुक चलाइरहेका हुन्छन् ।
‘तपाईंहरुलाई टिचिङबारे सबै थाहा छ ?’ एक जनाले सोधे । महिला एनजीओकर्मीले भनिन्, ‘यहाँ भित्रको सबै जानकारी लिएर बसेका हौं ।’ एकजना वृद्धा त्यहाँ आइपुगिन् । उनले इन्डोस्कोपी गर्ने ठाउँ सोधिन् । ती एनजीओकर्मीले औंलाले इसारा गर्दै जानुपर्ने दिशा देखाइन् । उनले भनेकैतिर गइन् वृद्धा । तर भीडमा अलमलिइन् । ‘खै उता जा भन्छन्, कता हो कता ?’ उनले सुस्केरा छोडिन् ।
प्रशासनिक प्रमुख अधिकारी स्वयंसेवा गर्न आउनेलाई रोक्न नमिल्ने बताउँछन् । अस्पतालकै सोधपुछ कक्ष पनि छ । तर, त्यहाँ पुग्न सेवाग्राहीले अस्पतालको एक चक्कर लगाउनुपर्छ । त्यहाँ पाका कर्मचारी बसेका हुन्छन् । बोल्न पनि अनकाउँछन् ।
अस्पतालको शौचालय दुर्गन्धित छ । साबुन कतै छैन । जताततै पानी चुहुन्छ । शौचालयबाट निस्किँदा शरीर भिज्छ । ठेक्कामा दिइएको शौचालयले युरिन टेस्ट गर्ने बिरामीसँग समेत शुल्क लिन्छ ।
‘आम्मामा । निथु्रक्कै भिजेँ नि !’ एक महिला शौचालयबाट चिच्याउँदै बाहिरिइन् । धारा खोल्दा पानी उछिट्टिएर उनको लुगा झिज्यो । धाराको टुटी बिग्रिएर पानी बगिरहेको थियो । पाइपमा ठाउँठाउँमा प्वाल परेको छ । बिरामी र अन्य व्यक्ति सबैले एउटै शौचालय प्रयोग गर्छन् ।
अपांगमैत्री शौचालय छैन । पुरुष शौचालयमा जान बाध्य छन, बिरामी महिला । प्रत्येक शौचालयमा भीड लाग्छ । सफा गर्ने कोही देखिएनन् । तर, ५ रुपैयाँ उठाउन भने ढोकैमा दुई जना बसिरहेका थिए । प्रशासन प्रमुख अधिकारी सरसफाइ गर्नुपर्ने भएकाले बाहिरका व्यक्तिलाई ठेक्कामा दिइएको स्वीकार्छन् ।
अस्पतालको फार्मेसीमा प्रायः औषधी ‘छैन’ भनिन्छ । एक जना भन्दैथिए, ‘औषधी खोज्न अल्छी लागेर हो कि बाहिरको औषधी पसल चलोस् भनेर हो, केही बुझ्नै सकिएन ।’ अस्पतालको फार्मेसीमा औषधी किन्दा ५० प्रतिशत सस्तोमा पाइने सरकारी भनाइ छ । तर बिरामीहरू सम्पूर्ण औषधी निजी फार्मेसीमा किन्न बाध्य छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/farmecy-of-teaching-hospital-1024x708.jpg)
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५४ वटा सरकारी अस्पतालको मातहतमा औषधी पसल छ । तर डाक्टरले लेखेका अधिकांश औषधी अस्पतालको फार्मेसीमा पाइँदैनन् । रामेछापकी सुनीता कार्की डाक्टरको प्रेस्क्रिप्सन लिएर फार्मेसी पुगिन् । त्यहाँ लाइन थियो । पालो पाएपछि उनको पुर्जामा लेखिएका ६ मध्ये कुनै पनि औषधी नभएको कर्मचारीले बताए । उनी औषधी किन्न बाहिरिन् ।
अरु कुरा त छाडौँ कोटसमेत चोरी हुन्छ
पुस २६ बजे । दिउँसो साढे दुई बजे । बुबालाई इमर्जेन्सीमा लिएर पुगे नुवाकोटका जितेन्द्रसिंह ठकुरी । तीन महिनाअघि मात्रै किनेको बा९८प ७०९४ नम्बरको पल्सर बाइक पार्किङ गरे । अपरान्ह ५ बजे निस्कँदा पार्किङमा बाइक छैन । आत्तिँदै सुरक्षा गार्डलाई सोधे । गार्ड केही बोलेनन् । मात्र चोर औंलाले भित्तामा लेखिएको सूचना देखाए । जहाँ लेखिएको छ, ‘बाइक हराएमा अस्पताल जिम्मेवार हुने छैन ।’ प्रशासनमा गएर गुनासो गरे । कर्मचारीले सुन्नै चाहेनन् ।
भने, ‘डाक्टरहरुको त बाइक हराउँछ ।’ त्यसपछि जितेन्द्रले ट्राफिक प्रहरीमा उजुरी गरे । प्रहरीले सीसी क्यामेरा फुटेज हेर े। तर, बाइक पत्ता लागेन । अहिले जितेन्द्र बाइकको बीमा रकम दाबी गर्न हिँडिरहेका छन् । उनले निरास हुँदै भने, ‘दिउँसै हेन्डिल लक भाँचेर तेत्रो मान्छेको अगाडि बाइक घिसार्दै लगेको थाहा हुँदैन ? मलाई त त्यहीँका कर्मचारीमाथि शंका लागिहेको छ । तर के गर्नु प्रमाण छैन ।’
हेलमेट, मोबाइल, साइकल, पैसा चोरी हुनु सामान्यजस्तै भइसक्यो । गुल्मीका ७० वर्षीय हरिप्रसाद पोखरेलको मंगलबार बसेकै ठाउँबाट मोबाइल चोरियो । त्यसपछि परिवारसँग सम्पर्क हुन सकेन । उनी निरास थिए । अस्पताल परिसरभित्र जताततै सर्तक रहनुपर्ने सूचना टाँसिएका छन् । आफ्नो सामानको सुरक्षा आफैँ गर्नुहोला, बाइक र हेल्मेटको सुरक्षा आफैँ गर्नुहोला, साइकल चोरदेखि होसियार, पाकेटमारदेखि सावधान ।
यस्ता सूचनाले अस्पतालभित्र असुरक्षा महसुस गराउने एक कुरुवाले बताए । अस्पतालभित्र २२ जना सुरक्षा गार्ड कार्यरत छन् । तर, आफ्नै सामान चोरी हुने गरेको उनीहरूको गुनासो छ । एक सुरक्षा गार्डले भने, ‘अस्ति मेरो कोट नै चोरी भयो । आफ्नै कपडा चोरियो, अब कसलाई भन्नु ?’
प्रशासनिक प्रमुख सूर्यप्रसाद अधिकारीले सबैको पछि लाग्न नसकिने बताए । उनले अस्पतालभित्र दुई किसिमको सुरक्षा व्यवस्था गरिएको प्रस्ट पारे । ‘सिभिल र डे«समा सुरक्षाकर्मी परिचालित छन्,’ उनले भने, ‘यस्ता घटना नियन्त्रण गरिन्छ। हामी कोशिस गरिरहेका छौं ।’
बिरामी कुरुवाको कन्तबिजोग
बिहान ६ बजे । अस्पतालभित्र चिसो भुइँमा लहरै आठ–दश जना सुतिरहेका थिए । कोही ढोकाछेउमा, कोही फार्मेसीको छेउमा, कोही सहायता कक्षनेर, कोही बैंकको काउन्टरनेर । कोही कुर्सीमा, कोही कुनामा । माघको जाडोमा एकसरो ब्ल्याङ्केटभित्र उनीहरु गुटमुटिइरहेका थिए । अस्पतालमा ओहोरदोहोर गर्नेले सुतिरहेकाहरुलाई कुल्चिने हो कि भन्दै खुट्टा छलेर हिँड्थे । उनीहरू सुतिरहेको ठिकमाथि भित्तामा सुनौलो अक्षरले लेखिएको थियो, ‘लभ एन्ड केयर ।’ अरु कथा भोग्ने नभोग्ने सबैलाई थाहा छ लेखिरहनुपरेन ।
खुलेआम बैंकको ठगी
बैंकका कर्मचारीले एउटै शीर्षकमा दुई पटक बिल काटिदिए । ‘एउटै उपचारको लागि दुई पटक पैसा तिर्नु र्पयो’, इन्डोस्कोपी विभागअगाडि विष्णुकुमारी राई (६५) हातमा दुईवटा बिल बोकेर गुनासो गर्दै थिइन् । उनले पुष २७ गते आधा घन्टाको फरकमा दुई पटक भिडियो एक्सरेका लागि पैसा तिरिन् । निरक्षर विष्णुकुमारी त्यसदिन एक्लै अस्पताल पुगेकी थिइन् । घरमा पुगेर छोराले बिल हेरेपछि मात्र आफू ठगिएका थाहा पाइन् । बुधबार पैसा फिर्ता लिन उनलाई दिनभरी लाग्यो । विष्णुकुमारीले भनिन्, ‘म ठगिएको रहेछु । थाहै भएन ।’
यो स्थलगत समाचार पत्रकार राजु स्याङ्तान /सपना महर्जन /अजवी पौड्याल /सृजना खड्काले अन्नपुर्ण पोष्टका लागी लेखेका हुन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्