डल्ले खुर्सानी रहेछ, गोर्खाली बलियो हुनुको रहस्य !
सैनिक जीवनका क्रममा दोस्रो विश्वयुद्धपछि सिंगापुरमा झन्डै २२ वर्ष बसेँ । त्यहाँ २० हजार गोर्खाली सेनाको रणनीतिक कामको जिम्मा ममाथि थियो । म भन्दा माथि एक जना ब्रिटिस कर्णेल थिए तर गोर्खाली फौजको रणनीतिक कामको जिम्मा मेरै काँधमा थियो । उनीहरूको हरेक कुराको जानकारी मैले दिनुपथ्र्यो ।
त्यहाँ बस्दाको एउटा रोचक प्रसंग मलाई सधैँ सम्झना आइरहन्छ । सन् १९५१ तिरको कुरा हो । सिंगापुर आर्मीका तर्फबाट सिंगापुर सहरमा अन्तराष्ट्रिय स्तरको एक फुड फेस्टिवल प्रतियोगिता आयोजना गरिएको थियो । जसमा ब्रिटिस, चिनियाँ, भारतीय, मलेसियन, गोर्खाली आदिले भाग लिएका थिए ।
सिंगापुर डिस्ट्रिक्ट आर्मी कमान्डिङ जनरल डन्लपकी ब्रिटिस पत्नी लेडी डन्लपलाई त्यसको निर्णायक तोकिएको थियो । त्यस बेला संसारमै गोर्खाली सेनाका बारेमा कौतूहल थियो । किनभने, हरेक युद्धमा हामी नै अग्रमोर्चामा खटिएका हुन्थ्यौँ र विजय प्राप्त गथ्र्यौं ।
![](https://everestwall.com/wp-content/uploads/2016/08/nepal-army-e1470056557150.jpg)
त्यति मात्र होइन, युद्धमा भाग लिइरहँदा गोर्खालीले नै उच्च बेलायती युद्ध पदक भिक्टोरीया क्रस (भीसी)को पदवी पाइरहेका हुन्थे । दोस्रो विश्वयुद्धमा मात्र नेपालीले १० वटा भीसी पदक पाएका थिए । जहाँ जहाँ युद्धमा पराजित हुने अवस्था आउँथ्यो, गोर्खाली सम्झिइन्थे ।
गोर्खालीहरू आफ्नो ज्यानको बाजी थापेर युद्धमा विजय प्राप्त गर्थे । सायद त्यसैले होला, संसारभरी नै जिज्ञासा थियो, गोर्खालीले के खान्छन् र यसरी युद्धमा विजय प्राप्त गर्छन् ? अरूका लागि लड्दा पनि यति इमानदार र कर्तव्यनिष्ठ छन् कि कसैले औँला ठड्याउन सक्दैनन् । के छ यिनीहरूको‘’जिन’मा ? के खाँदा रहेछन् र यस्ता हुँदा रहेछन् भन्ने जिज्ञासा लेडी डन्लपलाई पनि परेको रहेछ ।
फेस्टिवल स्थलको अन्तिममा हाम्रो स्टल थियो । हाम्रो त्यस फेस्टिवलको जिम्मेवारी पोखराका गुरुङ थरका व्यक्तिले लिएका थिए । साह्रै राम्रोसँग त्यसको सजावट गरेका थिए । नेपाली खानामा दाल, भात, ढिँडो, रसिलो कुखुराको मासु, अचार, गुन्द्रुक आदिले हाम्रो स्टल झकिझकाउ थियो । र, अन्त्यमा डल्ले खुर्सानीका भित्रका बियाँजति सबै झिकेर कमलको फूल आकारमा त्यसलाई सजाइएको थियो ।
सबै परकिारको नाम लेखिएको थियो तर त्यस फूललाई कुनै नाम दिइएको थिएन । फेस्टिवल अवलोकनका क्रममा ब्रिटिस लेडी डन्लप हाम्रो स्टलमा आएर ज्यादै आकषिर्त भएको भावमा प्रस्तुत भइन् । सबै परिकार बडो ध्यान दिएर ओल्टाईपल्टाई हेर्न थालिन् । गुन्द्रुक र ढिँडोका बारेमा जिज्ञासा पनि राखिन् ।
त्यसपछि उनले कमलको फूल आकारमा बनाइएको डल्ले खुर्सानीलाई नेप्किनको सहायताले मुखमा हालिन् । त्यसपछि त त्यहाँ हाहाकार नै मच्चियो । पिरोले उनी यसरी उफ्रिइन् कि त्यहाँ भागदौड र एक किसिमको कोलाहलको स्थिति सिर्जना भयो । उनका अंगरक्षकदेखि कार्यक्रम आयोजकहरू सबै मुखामुख गर्न थाले । यत्तिकैमा एम्बुलेन्सको व्यवस्था गरी उनलाई अस्पताल लगियो ।
हामी भित्रैदेखि डराइरहेका थियौँ, कतै उनलाई केही हुने पो हो कि भनेर । दोस्रो दिन जब हामी पुष्पगुच्छा लिएर उनलाई भेट्न अस्पताल पुग्यौँ, उनी बडो रमाइलो पारामा प्रस्तुत भइन् । उनलाई एन्टिभेनम इन्जेक्सन दिइएको रहेछ, आराम गररिहेकी थिइन् । ठट्टा गर्दै भनिन्–“तिमीहरू बलियो हुनुको राज बल्ल थाहा पाएँ ।’
साप्ताहिक पत्रिका ‘नेपाल’का लागी त्रिलोकसिंह थापासँग ईश्वरी ज्ञवालीले गरेको कुराकानीमा आधारीत ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्