सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दशैंको टिकट महंगोमा बिक्रि, कहाँ छ सरकार ?

जब दशैँ तिहार आउँछ, तबतब बसको टिकटमा हुने हानाथापले खुबै चर्चा पाउँछ । यस बर्षको दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङको अबस्था भद्रगोल देखिएको छ । टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेका थिएनन् ।

बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए । कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेको थिएन ।

गोंगबु, कोटेश्वर, गौशाला, बल्खु लगायत टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका यात्रुले साँझ ६ बजेसम्म पनि टिकट पाएनन् । टिकट बिहान ६ बजेदेखि वितरण सुरु गरिएको थियो ।

टिकट लिन महिला, पुरुष, ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएकाको छुट्टाछुट्टै लाइन नराख्दा समस्या आएको हो । सवारी साधनको स्तर अनुसार डिलक्स, सुपर डिलक्स, साधारण वर्गीकरण नगरिँदा पनि यात्रु अलमलमा परेका हुन् । दसैं मनाउन उपत्यकाबाट करिब ३० लाख यात्रु गाउँ फर्कने अनुमान छ ।

Naya Buspark Gongabu

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव लेकनाथ गौतम लाइन व्यवस्थापन गर्ने जिम्मेवारी ट्राफिक प्रहरी र तालुक निकायको भएको बताउँछन् । ‘यात्रु आफैं पनि सही ढंगले लाइनमा नबस्दा भद्रगोल देखिएको हो’, उनले भने, ‘महिला, ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएकालाई लाइनमा बस्नेले नै प्राथमिकता दिएर संस्कार देखाउनुपर्ने हो । तर, त्यस्तो देखिएन ।’

काठमाडौंबाट अन्य समयमा दैनिक १३ देखि १५ सय सार्वजनिक सवारीसाधन बाहिरिन्छन् । ती सवारी साधनले करिब ३० देखि ४० हजार यात्रुलाई सेवा दिने क्षमता राख्छन् । तर, घटस्थापनादेखि र फूलपातीसम्म दैनिक एकदेखि डेढ लाख र त्यसपछि साढे दुई लाख यात्रु काठमाडौंबाट बाहिरिन्छन् । निजी सवारीसाधन प्रयोगकर्ता थोरै छन् ।

टिकट बुकिङ भए पनि यात्रुले बुकिङमा सवारीसाधनको नम्बर पाएका छैनन् । व्यवसायीले यात्रुसँग डिलक्स र सुपर डिलक्स भनेर यातायात व्यवस्था विभागले तोकेभन्दा २० देखि ४० प्रतिशत बढी भाडा लिएका छन् ।

घटस्थापनादेखि फूलपातीसम्मका लागि करिब ७० प्रतिशत टिकट बुकिङ हुने व्यवसायीको अनुमान छ । सीमित सिटसंख्या देखाउँदै व्यवसायीले तीन–चार दिनभित्रै बुकिङ बन्द गर्ने तिकडम रच्ने यात्रुको गुनासो छ ।

टिकट नपाउने यात्रुको मनोविज्ञान बुझेका व्यवसायीले यसको फाइदा उठाएर महँगोमा बेच्छन् । ‘क्षमताभन्दा कम बुकिङमै सकिएको बहाना बनाएर व्यवसायीले कालोबजारीमा टिकट बेच्न थाल्छन’, सार्वजनिक यातायात व्यवस्थापनका अभियान्ता रामबहादुर थापा भन्छन्, ‘यातायात व्यवस्था विभागको यात्रु सहायता कक्षमा गुनासो राख्न यात्रु जाँदैनन् । चुपचाप बढी मूल्यमा टिकट किन्छन् ।’

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यात्रुलाई डिलक्स र सुपरडिलक्सको नाममा महँगो टिकट नलिन यात्रुलाई आग्रह गरेका छन् । यात्रुका गुनासो सुनुवाइका लागि यातायात व्यवस्था विभागले असोज १० देखि १८ गतेसम्म राजधानीका विभिन्न स्थानमा यात्रु सेवा कक्ष स्थापना गर्ने तयारी गरेको थियो । तर, टिकट बुकिङ आइतबारदेखि नै सुरु भइसकेको छ । यात्रुका गुनासो सुन्ने निकाय गोंगबुबाहेक अन्य स्थानमा राखिएको छैन ।

विभागको स्वयम्भू, माछापोखरी, कलंकी, नागढुंगा, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, सुन्धारा, पुरानो बसपार्क, फर्पिङ, ललितपुरको सातदोबाटो र भक्तपुरको जगातीमा सहायता कक्ष स्थापना गर्ने योजना छ ।

महानिर्देशक हमालका अनुसार दसैंको टिकट ५ गतेदेखि नै खुला भएकाले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ भने ७ गतेसम्ममा सबै क्षेत्रमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्