सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मामा भन्नेबाट नै ३ बालबालिकाको अपहरण

छोराछोरीलाई सामखुसीस्थित कोठामा छाडेर पोखरामा पुगेकी काठमाडौंकी रुपा (नाम परिवर्तन)लाई सोमबार परिचित आवाजबाट फोन आयो, ‘तेरो छोरा, छोरी र भाञ्जी मेरो कब्जामा छ, तीन लाख दिए मात्र छाड्छु ।’

फोन गर्ने बानेश्वरका २४ वर्षीय आशिष सिजापती थिए । रुपाले उनलाई सहजै चिनिन् । आपतमा आर्थिक सहयोग गर्ने, आफ्ना छोराछोरीले मामा भनेर सम्बोधन गर्ने सिजापतीले अपहरण गरेको उनले फिटिक्कै पत्याइनन् । तर दुई दिनपछि काठमाडौं फर्किएर कोठामा हेर्दा तीनै जना बच्चा थिएनन् ।

अनि पोखरामा हुँदा आएको फोन सम्झेर झस्किइन् । ‘अरुबेला भाञ्जाभान्जी भन्नेले अपहरण गर्ला भनेर पत्याउनु पनि कसरी ?’ रुपाले प्रहरीसँग भनेकी छन् । मोबाइल हेर्दा बच्चाको आईडीबाट फेसबुकमा ‘मामाले ल्याएर अननोन ठाउँमा राख्नुभएको छ’ भनेर म्यासेज आएको पनि देखियो ।

Aashish Sijapati

त्यसपछि आत्तिएकी उनले परिवारका सदस्यसँग सल्लाह गरेर प्रहरीलाई घटनाबारे जानकारी गराइन् । लगत्तै काठमाडौं प्रहरीले अनुसन्धान थाल्यो । प्राविधिक पक्षको विश्लेषणबाट सिजापतीको लोकेशन टोखा नगरपालिका–९, शान्ति टोल आसपास देखियो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सोही सूचनाको आधारमा त्यस क्षेत्रका होटलहरुमा छापा हान्न थाल्यो । त्यसक्रममा होटल ब्लू स्टारको कोठा नं. ४०४ मा खानतलासी गर्दा प्रहरीले अपहरित तीन बालबालिकालाई उद्दार गर्यो ।

कुरुवाको रुपमा बसेका गोरखाका २८ वर्षीय विनोद थापा मगर पनि पक्राउ परे । उद्दारपछि बच्चालाई ‘ममीले राख्नु भनेको छ’ भनेर विद्यालय जाने वेला सिजापतीले अपहरण गरेको खुल्यो । तर उनी कहाँ छन् भन्ने पत्तो लागेन ।

सोधपुछ र विस्तृत अनुसन्धानका क्रममा सिजापती प्रहरीकै हिरासतमा रहेको खुल्यो । तीन जना बालबालिका अपहरण गरेको एकदिनपछि मंगलबार सिजापतीले नै काठमाडौंको टोखामा डेरा गरी बस्ने रामेछाप दोरम्बाका २१ वर्षीय नरेश थापा मगरलाई अमलेखगञ्जमा अपहरण गरेका रहेछन् ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चलाएको अपरेशनमा उनीसहित धादिङका किसन गुरुङ, आशिक लामा, कञ्चनपुरका सुनिता धामी र मकवानपुरका सरस्वती तामाङ पनि पक्राउ परे ।

हेटौंडा जानलाई बा २ ज ५९५ नम्बरको ट्याक्सीमा सवार रहेका मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका सिजापतीको समूहले अपहरण गरेको थियो । त्यसक्रममा मगरसँगै रहेका काभ्रेका सरोज सापकोटामाथि कुटपिट भएको थियो । लगत्तै, दुई जना जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा पुगेर प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए ।

त्यसक्रममा सिजापती लगायत पक्राउ परे । समूहका दुई जना सदस्य अझै फरार रहेको प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंहले बताए । उनले भने, ‘काठमाडौं समातिएका व्यक्ति पनि यही समूहका हुन् कि होइनन् भन्ने विषयमा पनि अब अनुसन्धान गर्छौंं ।’

लेनदेन विवादले अपहरण भएको खुलासा
अनुसन्धानमा संलग्न काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार दुवै घटनामा लेनदेन सम्बन्धी विवाद पनि देखिएको छ । सामाखुसी अपहरण प्रकरणमा रुपालाई सिजापतीले दुई लाख रुपैयाँ ऋण दिएका थिए, तर फिर्ता पाएका थिएनन् ।

मगरको घटनामा पनि आर्थिक विषय पनि जोडिएको प्रहरी बताउँछ । एसपी सिंहका अनुसार सिजापतीको अपहरणमा परेका विनोद मगर साथी भएको र लेनदेनको समस्या रहेको बताएका छन् । तर, यकिन रकम बताएका छैनन् ।

विनोदले काठमाडौंमा आफ्नो सुन चाँदी पसल रहेको प्रहरीलाई बताएका छन् । सिजापती यसअघि ठगीका घटनामा संलग्न भएको पाइएको छ । उनले आफूसँग वन मान्छेको हात, सर्पको दाँत जस्ता वस्तु भएको बताउँदै ठगी गर्ने गरेको देखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्