सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

देशको सबैभन्दा ठुलो मान्छेसँग भेट्दा…

अनिष्मा बस्नेत ।

मैले बच्चा बेलामा राजा महेन्द्रको र बिपी कोइरालाको भलाद्मीपन र सरल भाषा शैलीको बारेमा मेरा हजुरबुवाले भनेको सुनेको थिएँ । स्मृतीमा ती सबै कुरा आज याद आयो । मैले हरेक कुराको ज्ञान राष्ट्रपति विद्यादेवी भण्डारीमा पाएँ ।

आफुले दिएको समयमै राष्ट्रपति टुप्लुक्क आईपुग्नुभयो । हत्तपत्त उठेर नमस्कार ग¥यौं । उहाँले पनि नमस्कार फर्काउनु भयो अनि बसेर कुरा गरौं भन्नुभयो । मलिन र नम्र स्वभाव । उज्यालो अनुहार, साधारण तर आकर्षक व्यक्तित्व । सानो, तर स्पस्ट आवाजकी धनी उहाँसँग प्रभावित नहुने कुरै भएन ।

निर्धारीत समय ११ बजे थियो तर मनको छटपटीले कुर्न दिएन । आधा घण्टा चाँडै पुगेँ । नपुग्नु पनि कसरी राष्ट्र प्रमुखसँग भेट्ने जुन अवसर प्राप्त भएको थियो । लामै पर्खाईपछी मात्रै जुरेको थियो यो समय ।

साथमा हुनुहुन्थ्यो, अघिल्लो सरकारका पालामा क्यानडाका लागि पर्यटन दूत नियुक्त भएका नरबहादुर टन्डन । जसले पर्यटन प्रवद्र्धनसम्बन्धी एउटा पुस्तक लेख्नुभएको थियो । त्यही पुस्तक राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिनु भेटघाटको बहाना छँदै थियो ।

विशिष्टहरुलाई भेट्न घण्टौँ पालो कुर्नुपर्ने र उस्तै परे भेट्न नपाई फर्कनुपर्ने बाध्यतासँग म परिचित छु । यस्तै भय मनमा पलाएको थियो । कुर्नै परे पनि शीतलनिवासको वातावरणले कुराईको अत्यासलाई भुलाईदिन्थ्यो । सुन्दर, मनमोहक अनि शान्त वातावरणले मनलाई शितलता दिलाउँथ्यो ।

चिया पिउँदै गर्दा क्यामेरा नबोक्दा रास्ट्रपतिसँग फोटो खिच्ने रहर अपुरै रहने कुराले पिरोल्यो । धेरै आवश्यकता मोवाईलले नै पुरा गर्ने भएकाले आजकल अतिरिक्त सामान बोक्ने झन्झट घटेको छ । तर भएको त्यही मोवाईल सुरक्षा जाँच कक्षमा छाड्नु परेपछी फोटो खिच्ने आफुसँग अर्को विकल्प रहेन ।

सरल भाषा शैलीमा राष्ट्रपति भण्डारीले मेरा हरेक प्रश्नको नम्र अनि भलादमी तरिकाले जवाफ दिनुभयो । ममा प्रश्न गर्ने भन्दा पनि उहाँको कुरा सुनिरहने ईच्छा थियो । तर, हामी फरक उद्देष्यका साथ उहाँसामु थियांै ।

मलाई लागेको थियो, हामीले अब राष्ट्रपतिलाई भेट्नुको कारण बताउनुपर्छ । सँगै रहेका पर्यटन दूत टन्डनले राष्ट्रपति समक्ष विषय राख्नुभयो । तर, राष्ट्रपति यस विषयमा पहिले नै जानकार हुनुहुँदो रहेछ । पर्यटन दूत टन्डनले भन्न नपाउँदै उहाँले खरर भनिदिनुभयो । विषय वस्तुको पुष्टि गर्दै उहाँले भन्नुभयो, ‘मैले यो विषयमा पढेको छु, सुनेको पनि छु ।’ उहाँको विज्ञता देखेर म नतमस्तक भएँ ।

पर्यटन प्रवद्र्धनका लागि टन्डनले गरेका कामको उहाँले प्रशंसा गर्नुभयो । यस्ता कामका लागि सहयोग गर्न आफु सधैं तयार रहेको बताउनुभयो । देश बनाउने कुरामा, देशलाई चिनाउने कुरामा सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्ने उहाँको विचार थियो ।

क्यानडामा नेपाल बोकेर गुड्ने एउटा ट्रकको बारेमा मैले एउटा समाचार लेखेको थिएँ । राष्ट्रपतिले पढ्नुभएको रहेछ । ट्रकका ड्राइभर टन्डन छेउमै हुनुहुन्थ्यो । राष्ट्रपतिले भन्नुभयो, ‘खै किन हो नेपालीहरू कुनै पनि कुरालाई दीगो रूपमा लागू नै गर्दैनन् ।’

कुनै पनि कुरा सिक्यो त्यहीँ सकियो । नाफा कति आउँछ ? पैसा कति आउँछ ? विकासका लागि अरूकै भर पर्ने । नेताको मुख ताक्ने । आफूले जानेको सीप र ज्ञानलाई प्रयोगमा ल्याउने, आत्मनिर्भर बन्ने भन्ने छँदै छैन ।’

राष्ट्रपति भएदेखि बाहिरी जिल्लामा भइरहेको विकासको काम र वास्तविक स्थिति हेर्न नपाएको प्रति चिन्ता व्यक्त गर्नुभयोे । पति मदन भण्डारीको नाममा खोलिएको मेडिकल कलेजको सम्बन्धमा पनि उहाँले चासो राख्नुभयो । छोटो बसाईमा उहाँले पदीय मर्यादाले उब्जाएका गुनासा पोख्नुभयो ।

उहाँले भन्नुभयो ‘दाङमा खोलिएको मदन मेडिकल कलेज सञ्चालनमा छ कि बन्द भइसक्यो, अवस्था कस्तो छ ? मलाई नै केही जानकारी छैन । राष्ट्रपति जन्मेको गाउँमा खानेपानी समेत छैन भनेर बारम्बार त्यहाँका स्थानीयले मलाई भनेका छन् । मैले पटक–पटक अनुरोध गरेँ । पानीका लागि बजेट छुट्याउन लगाएँ ।’

संविधानले राष्ट्रपतिलाई अधिकार नदिएको विषयमा पनि उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘के गर्नु आफ्नो हातमा केही छैन । काम कसरी भएको छ ? काम भएको छ कि छैन ? अवस्था कस्तो छ हेर्न बुझ्न पाएको छैन ।’

with presedent

राष्ट्रपति भण्डारीले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने ईच्छा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो क्षेत्रको विकास गर्न धेरै काम गर्ने चाहना छ । बाहिर हिँड्न पाइएको छैन । सीमित दायरा छन् । काम गर्न सकिएको छैन ।’

कुराकानिकै क्रममा उहाँले देशको अस्थिर राजनिति प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘सरकार परिवर्तन भइरहन्छ । दलहरूबीच खिचातानी छ । यसको असर शिक्षा र स्वास्थ्य क्षेत्रमा परेको छ ।’

राष्ट्रपतिसँग भेट्न हामीलाई दस मिनेटको समय तोकीएको थियो । तर, उहाँले हामीसँग ३० मिनेट बिताउनुभयो । उहाँसँगको बसाई निकै अर्थपुर्ण र न्यानो रह्यो । छोटो बसाईमा उहाँले अभिभावकले झैँ गरी बोल्नुभयो ।

राष्ट्रपति कार्यालयको सुबिधा उपयोग गर्दै फोटो खिच्ने रहर पनि पुरा गरेँ । निस्कँदै गर्दा सोचेँ, उहाँ पनि एउटी महिला नै हो, आज देशको अभिभावक बन्नुभएको छ । हामी महिला अधिकारका कुरा त गर्छौँ तर स्वावलम्वी र आत्मनिर्भर बन्ने दिशातर्फ आफुलाई तयार गरेका छौँ कि छैनौँ ?

फेसबुकबाट कमेन्ट गर्नुहोस्