सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानबाट के सिक्यौँ त हामीले ?

सन्तोष चोखाल, संचारकर्मी

सन २०१४ मा जापान आएपछी पहिलो वर्ष नेपाली समुदायमा त्यती घुलमिल हून सकीन । विस्तारै घुलमिल हुँदै गएँ । त्यो बेला आफैले केहि कुरा मनमा खेलाउँथे ‘हामी नेपाली विदेशमा आएर पनि किन सभ्य छैनौँ होला है ?’ यो मैले नबुझेर हो कि जस्तो पनि लाग्थ्यो ।

जापानमा भएका नेपालीहरुसँग घुलमिल हुँदै गएँ, बुझ्दै गएँ कि, वास्तवमा जापान जस्तो सभ्य, विकसित देशमा आएर पनि हामी त जस्ताको तस्तै पो रहेछौँ । मीडियाकर्मीको हिसाबले आँकलन गर्छु, यति सभ्य समाजमा हामी छौँ तर पनि हामीमा परिवर्तन भन्ने त नामै छैन ।

उसो त विद्वान र बौद्धिक नेपालीहरु नभएका पनि होईनन् तर सभ्य समाजमा थोरैले गरेको व्यवहार पनि प्रस्ट देखीहाल्ने, अनि जतिसुकै विद्धताका अगाडी पनि नेपालीहरुको पहिचान एउटै बनायौँ, बन्यौँ र हामी सभ्यता हराएको समाजका जिव जस्ता भयौँ ।

नेपालीहरुको संख्या बृद्धिसँगै जापानमा बिभिन्न नामका संघसंस्थाहरू दिनदिनै बढिरहेका छन । त्यसको म विरोधी पनि होईन र गर्दिन पनि । म आफै पनि बिभिन्न समाज र संघसंस्थाहरूमा छु । सबै संघसंस्थाले आफ्नो घर, गाऊँ र देशको लागी केहि न केहि गरेकै छन ।

तर संघसंस्थाका नाममा हुने घिनलाग्दो राजनिति र क्रियाकलापले भने संघसंस्था र तिनीहरुमा आबद्ध व्यक्तिहरुमाथी नैरास्यता र प्रश्न खडा भएको छ । बिभिन्न संघसंस्थाका नाममा हुने राजनिति र मनभेदले जापानबासी नेपालीमाझ एकताको साटो आपसी फाटो ल्याउने काम गरेको छ । जुन हामीले चाहेको हुँदै होईन ।

परदेशमा बसेर गरिने राजनिति के का लागी ? जापानवासी प्रवासी नेपालीका लागी कि सिमित वर्ग र व्यक्तिको स्वार्थ प्राप्तिका लागी ? के नेपाल पर्याप्त नभएर जापानलाई राजनितिको थलो बनाउन खोजेका हौँ हामीले ? समाज र संस्थाका नाममा भएका राजनितिले जापानवासी नेपाली समाजलाई कुन दिशातर्फ डोर्याउँदै छ ?

तपाई हामीले जापानमा बसेर दुख पसिना बगाउन आएका नेपालीहरुमाथी गरेको राजनितिले देशलाई के फाईदा भएको छ ? हामीले जापानमा राजनिति गर्दै गर्दा देशलाई के सहयोग पुग्यो ? देशलाई के योगदान दिन सक्यौँ ? के सिक्यौँ हामीले जापानबाट ?

अनेक नाममा समाज र संस्था खोल्दै पदको भर्याङ बनाउने र आफ्नो स्वार्थ पुरा गर्ने भन्दा अरु के गर्यौँ हामीले ? सिधासाधा नेपालीसँग सहयोगका नाममा पैसा उठाएर रेष्टुरेन्टको विल तिर्नुभन्दा ठुलो उपलब्धि के छ हामीसँग ?

कि वियर खाएर क्यान जहाँ पायो त्यहीँ फाल्ने, जाँड खाएर झगडा गर्दै, लड्दै हिँड्ने, होहल्ला गरेर अरुलाई डिस्टर्व गर्ने अनि प्रहरीको चेतावनी पाउनुलाई जापान आएको उपलब्धि भनिन्छ र ? नेपालीको तितो सत्य परिचय त यही बनाएका छौँ क्यारे हामीले जापानमा ।

हाम्रो संघसंस्थामा हुने राजनितीले जापानबाट सभ्यताको पाठ सिक्नुपर्छ, परिवर्तनको पाठ सिक्नुपर्छ भन्ने कुरा आवश्यक ठान्दैन ? पछिल्लो चारपाँच दशकमा जापानले विकासमा मारेको छलाङको पाठ हामीले सिक्न मिल्दैन ? के तपाई हाम्रो राजनितिले बिगार्ने र भत्काउने बाहेक अरु कुरा स्वीकार गर्न सक्दैन ?

कम्तिमा देशलाई केही दिन नसकेपनि जापान आएर हामी आफुले त केही सिकौँ । आफुलाई त केही बदलौँ । किन हामी देशको बद्नाम गरिरहेका छौँ ? किन हामी एकअर्काको बद्नाम गरिरहेका छौँ ? यो घिनलाग्दो राजनितीले हामी र हाम्रो समाजलाई कुन दिशातर्फ डोर्याउँछ ?

जापानबाट पनि हामीले केहि सिक्न सकेनौँ भने कहाँबाट के सिकौँला र ? परदेशमा आएर पनि हामीले अरुको विरोध नै गर्नु पर्ने । एक नेपालीले राम्रो गरेको अर्को नेपालीले देख्नै नहुने । कसरि लडाउँ, कसरी ढलाउँ भन्ने सोच मात्रै हामीमा आऊने । यसरी कहिले हुने हामी सभ्य ?

कामभन्दा हामीलाई गफ बढ़ी आउँछ । गफैगफले हामी नेपाललाई जापान बनाउछौँ, स्वीजरल्याण्ड बनाउछौँ तर जापान कसरी अहिलेको जापान भयो भन्ने कुरा हामी जापानबाट सिक्न चाहान्नौँ, सिक्दैनौँ । दुई चार जना मान्छे जम्मा गर्यो, गफ हान्यो, रेष्टुरेन्टको बिल तिर्यो । के यसकै लागी हो प्रवासको राजनिती ?

यसको अर्थ यो होईन कि, जापानबाट हामीले केही सिकेकै छैनौँ, गरेकै छैनौँ भन्ने पनि होईन । मैले भन्न खोजेको के मात्रै हो भने, हामी यस्तो काम नगरौँ, जुन काम गर्दा देशको बद्नाम होस । अर्को नेपालीलाई हानी होस । बरु तपाई हाम्रो कर्मले अर्को नेपालीलाई फाईदा होस, देशलाई फाईदा होस ।

राम्रो काम गर्नेलाई सहयोग गरौँ । जुनसुकै नामको समाज होस, जुनसुकै पार्टीको होस् नेपालीका लागी केही गर्छु भन्नेलाई आड भरोसा दिऔँ । गलत मनसायले संघसंस्थामा पसेर सही कामका लागी संघसंस्थामा आउने, समाजमा आउनेहरुलाई बाटो बन्द नगरौँ । अब पनि नसिके, नगरे, कहीले गर्ने ?

(लेखक रिपोर्टस क्लव नेपाल, जापानका अध्यक्ष हून ।)

फेसबुकबाट कमेन्ट गर्नुहोस्