सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लिविया विमानस्थल हमलामा २० जनाको मृत्यु

लिबियाको राजधानीमा रहेको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार आतंककारी लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । आतंककारीको आक्रमणमा परी अन्य ६३ जना घाइते भएका छन् ।

जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन भन्दै लडाकूले विमानस्थल मै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षबीच झडप भएको अधिकारीले बताएका छन । झडपका क्रममा भएको गोलाबारीबाट ६ वटा विमान प्रभावित भएको जनाइएको छ ।

मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना सर्वसाधारण छन् भन्ने बारेमा यो समाचार तयार पार्दासम्म केही खुल्न सकेको छैन । घटनामा परी घाइते भएकाहरुमध्ये केहीको अवस्था गम्भीर भएको हुँदा मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ । यो आमनागरिकले प्रयोग गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो । सन् २०१४ को मध्यतिर विद्रोही लडाकूले आक्रमण गर्दा भएको झडपपछि सो विमानस्थल क्षतिग्रस्त रुपमा रहेको छ । उत्तर अफ्रिकी मुलुक लिबियामा लामो समय मोहमर गद्दाफीले तानाशाही शासन लागू गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्