सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चिनियाँ रेल चाँडै काठमाण्डौ पुग्छः सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाउन चीन सँधै साथमा रहने बताएका छन् । प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच बुधबार दिउँसो भएको भेटवार्ताका क्रममा राष्ट्रपति सिले उक्त कुरा बताएका हुन् ।

ग्रेट हल अफ दी पिपुलमा भएको दुई देशको प्रतिनिधि मण्डलसहितको बार्तामा राष्ट्रपति सीले नेपालले एक चीन नीति अख्तियार गरिरहेकोमा र नेपाली भूमिबाट कुनै पनि चीन विरोधी गतिविधि हुन नदिएकोमा नेपालप्रति आभार प्रकट गरेका थिए ।

उनले नेपालले नयाँ संविधान पाएको र निर्वाचनमार्फत नयाँ समाजिक व्यवस्था अवलम्बन गरेर स्थायित्वतिर अघि बढेकोमा समेत खुशी प्रकट गरेका थिए । प्रतिनिधि मण्डल स्तरीय बार्ता करीब ५५ मिनेट भएको थियो ।

राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । राष्ट्रपति सीले नेपालको विकास यात्रामा चीन साझेदार बन्न तयार रहेको समेत बताएका छन् ।

राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति सीले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार भोली चीन–नेपाल जोड्ने रेल्वेको डीपीआर निर्माणबारे सम्झौता हुँदैछ । अहिले जारी रहेको पूर्वसम्भाव्यता अध्ययन अगस्टमा सकिनेछ । नेपालले अनुदानमा बनाइदिन आग्रह गरे पनि रेल्वे निर्माणको मोडालिटी टुंगिएको छैन ।

चीनले पूर्ण अनुदानमा बनाउन नमाने केही अनुदान र केही सहुलियतपूर्ण ऋणमा भएपनि बनाउने सरकारको योजना छ । यो रेल नाफा घाटा भन्दा पनि रणनीतिक महत्वको भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन–‘मोडालिटीबारे हामी छलफलमै छौं । तर, हामी आफ्नो तर्फबाट पनि योगदान गर्न तयार छौं ।’

त्यसैगरी प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न आतुर रहेको भेटवार्ताका क्रममा बताएका छन् । राष्ट्रपति सीले एसियाका धेरै देशको भ्रमण गरेको उल्लेख गर्दै उनले नेपाली जनताले पनि स्वागतको चाहना राख्नु स्वभाविक भएको बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्