सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सोलारबाट प्रविधि प्रयोग गरी सुख्खाटारमा सिँचाई

शुक्लागण्डकीको करिब ४६० रोपनी क्षेत्रफलमा अहिले सिंचाइ सुविधा पुगेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका कृषकहरू सोलार प्रविधिबाट सिंचाइ सुविधा पाउँदा उत्साहित भएका छन् ।

शुक्लागण्डकी नगरपालिका–१० को लोकेतीटारमा स्थानीय क्याङ्दी खोलाबाट लिफ्ट प्रविधिबाट सिंचाइको सुविधा उपलब्ध भएपछि खेतीपातीमा सहज भएको कृषक मिनबहादुर खत्रीले बताए ।

उपभोक्ता समितिका अध्यक्षसमेत रहेका खत्रीले भने, ‘आकाशे पानीको भरमा परम्परागत तरिकाले खेती गर्दै आएका थियौं । सोलर प्रविधिबाट पानी तानेर अहिले सिंचाइ सुविधा प्राप्त भएको छ । हामी व्यावसायिक रुपमा मौसमी तथा बेमौसमी खेती गर्ने तयारीमा जुटेका छौं ।’

क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत पानी तानेर २ वटा ट्यांकीमा संकलन गरिएको छ । ट्यांकीमा संकलित पानी करिब ४ किलोमिटर क्षेत्रफलमा पाइप बिच्छयाएर प्लट–प्लटमा पानीको धारा जडान गरिएको अध्यक्ष खत्रीले बताए । उनले भने, ‘उक्त धाराबाट करिब एक महिनादेखि पानी वितरण गरी सिंचाइ सुविधा उपलब्ध गराइएको छ ।’

गण्डकी प्रदेश सरकारको करिब एक करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको लोकेतिटार लिफ्ट सिंचाइ योजनाबाट करिब ३ सय उपभोक्ता लाभान्वित भएका छन् ।

यस्तै, सिस्नेरी ठूलोफाँट लिफ्ट सिंचाइ योजनाबाट ३ सय रोपनी क्षेत्रफलमा सिंचाइ सुविधा पुगेको छ । ‘हिउँदमा खेतबारीमा सिंचाइको सुविधा नहुँदा हामीले चाहे अनुसारको खेतीपाती गर्न सकिरहेका थिएनौं’, उपभोक्ता समितिका अध्यक्ष गोविन्द शर्माले भने, ‘यो योजनाका कारण अब हिउँदमा पनि हरियो सागसब्जी र तरकारी खेतीका लागि प्रयाप्त सिंचाइको उपलब्ध भएको छ ।’

उनका अनुसार २०७५ सालदेखि सुरु भएको योजना हाल सम्पन्न भई विगत डेढ महिनादेखि धारामा पानी आएको छ । सुख्खा जमिनमा सिंचाइको लागि पानी पर्याप्त भए कृषकहरुले तरकारी खेती सँगसँगै धान खेती पनि गर्ने योजना बनाएका छन् । सिंचाइ सुविधा उपलब्ध भएसँगै कृषकहरुले गहुँ, धान, मकै, काउली, बन्द, तोरी लगायतका खेती गर्न थालेका छन् ।

सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिंचाइको सुविधा उपलब्ध गराउन लागि परेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले बताए । कार्यालयले अहिले शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र देवघाट गाउँपालिकामा सोलर लिफ्ट सिंचाइ योजना सम्पन्न गरिसकेको छ भने भिमाद–८ बाह्रबिसे र बन्दीपुरमा योजना निर्माणको चरणमा छन् ।

शुक्लागण्डकी–१० को लोकेतिटार, भिमाद–७ को सिस्नेरी र देवघाट–२ बेसारघारीमा सोलरका माध्यमबाट पानी लिफ्ट गरी सिंचाइको व्यवस्था गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनीयर जगनाथ चापागाईँले बताए । उनका अनुसार यी योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।

भिमादस्थित सिस्नेरीमा ७९ लाख रुपैयाँ र देवघाटस्थित बेसारघारीमा एक करोड २१ लाख रुपैयाँको लागतमा योजना निर्माण गरिएको सूचना अधिकारी चापागाईँले बताए । ‘लोकेतीटारमा २३, सिस्नेरीमा २७ र बेसारघारीमा ३२ वटा धारा निर्माण गरी सिंचाइको व्यवस्था मिलाइएको छ’, उनले भने, ‘सोलर लिफ्टको माध्यमबाट लोकेतीटारमा करिब ४६० रोपनी, सिस्नेरीमा करिब ३ सय रोपनी र बेसारघारीमा ६ सय रोपनी क्षेत्रफलमा सिंचाइ सुविधा उपलब्ध भएको छ ।’

सिस्नेरी फाँटमा जमिनभन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी ट्यांकीमा संकलन गरिएको छ । उक्त योजना अन्तर्गत ३ किलोमिटर क्षेत्रफलमा पाइप बिच्छयाइएको छ । त्यस्तै, बेसारघारीमा स्थानीय खोलामा पोखरी बनाएर पानी जम्मा गरी करिब ११० मिटर उच्चाईमा सोलरको माध्यमबाट पानी लिफ्ट गरिएको कार्यालयले जनाएको छ ।

सुख्खा टारमा सिंचाइ सुविधा उपलब्ध गराई स्थानीय कृषकहरुलाई व्यावसायिक रुपमा कृषि पेशा अंगाल्न सहज बनाउने उद्देश्यले सोलर लिफ्ट प्रविधिको माध्यमबाट यी योजना सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयका डिभिजन प्रमुख शर्माले बताए ।

उनले भने, ‘पानीको श्रोतभन्दा सिंचाइको सुविधा पुर्‍याउनुपर्ने क्षेत्र अग्लो स्थानमा भएका ठाउँ विद्युतको माध्यमबाट लिफ्ट प्रविधि प्रयोग गर्दा महशुल चर्को आउने हुँदा कृषकलाई सहज रुपमा सिंचाइ सुविधा उपलब्ध गराउन सोलर प्रविधिको प्रयोग उपयोगि देखिएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्