सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उप–प्रधानमन्त्रीद्वयलाई हटाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उप–प्रधानमन्त्रीद्वय चित्र बहादुर केसी र कमल थापालाई हटाउन माग गरेको छ । कांग्रेसले उनीहरुलाई संविधानविरुद्ध अभिव्यक्ति दिएको र आन्दोलनको घोषणा गरेको भन्दै बर्खास्त गर्न माग गरेको हो ।

व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकमा कांग्रेसका सांसदहरुले संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेको सरकारका मन्त्रीहरुले संविधान विपरित अभिव्यक्ति दिनु र आन्दोलनका कार्यक्रम घोषणा गर्नु गैरजिम्मेवार र संविधान बिरोधी कार्य भएको टिप्पणी गरेका छन् ।

कमल थापा नेतृत्वको राप्रपा नेपालका मन्त्रीहरुले गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् भने उपप्रधानमन्त्री तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रहादुर केसीको राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा साउन मसान्तसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

कांग्रेसका सांसदहरु रामहरि खतिवडा, अर्जुनप्रसाद जोशी लगायतले संसद बैठकमा बोल्दै संविधानको सपथ खाएका मन्त्रीलाई संविधान विपरित अभिव्यक्ति दिने तथा आन्दोलन गर्ने छुट नरहेको भन्दै त्यस्ता मन्त्रीले कि त नैतिकताको आधारमा पद त्याग गर्नुपर्ने नभए उनीहरुलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका छन् ।

लगत्तै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कांग्रेसका सांसदहरुलाई जवाफ फर्काउनु भएको थियो । संविधानले फरक विचार राख्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले त्यहि अधिकारको प्रयोग स्वरुप आफ्नो पार्टी आन्दोलनमा गएको बताउनु भयो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्