सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नुनतेल खोज्न मुस्ताङ पुग्यो ओली सरकार

पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न नेपाल सरकारको एउटा टोली मुस्ताङ पुगेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिक सहित २२ जनाको टोली सोमबार मुस्ताङ पुगेको हो । वली सरकारका मन्त्री सहितको अध्ययन टोलीले पेट्रोल तथा नुन लगायतका खानीहरुको अध्ययन गरी उत्खनन् कार्यलाई अगाडी बढाउने तयारी गरेको बुझिएको छ ।

अध्ययन टोलीले मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको विस्तृत अध्ययन गरेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पानीमाथि अनवरत रुपमा बल्ने आगो ग्यास हुनसक्ने टोलीमा सहभागी खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले बताउनु भएको छ ।

Mustang1

पौडेलले भन्नुभयो,–‘यहाँको अवस्था हेर्दा उत्खननका लागि त्यति असजिलो छैन, सरकारले विशेष पहल गर्दैछ ।’ मुक्तिनाथको मुख्य मन्दिरभित्र भूमिगत कागखोलामा निरन्तर आगो बलिरहेको देखिन्छ भने त्यसबाट केही मात्रामा पेट्रोलियम पदार्थको गन्ध पनि आउने गरेको स्थानीयवासीको भनाइ छ ।

अध्ययन टोलीले मुक्तिनाथपछि छुसाङ गाविसको तेताङमा पर्ने नुनखानीको समेत अवलोकन गर्नेछ । नुनको पहाडै रहेपनि त्यसको उत्खनन हुन नसक्दा वर्षौँदेखि त्यतिकै खेर गइरहेको छ । नुनखानी सञ्चालनका विषयमा स्थानीयवासीसँग समेत छलफल हुने बताइएको छ । पौडेलका अनुसार टोलीले लोमान्थाङ क्षेत्रमा युरेनियम र जोमसोमस्थित ठिनी गाउँमा रहेको कोइलाखानीको समेत अनुसन्धान गर्नेछ ।

लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइमा युरेनियमको भण्डार रहेको बताइएको छ । मन्त्री पाण्डेले यी सबै विषयमा स्थलगत अध्ययन गरेर उत्खननका लागि प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ । मन्त्री पाण्डेले भन्नुभयो–‘हामी अध्ययनको क्रममा छौं, अबको तीन बर्षभित्र ग्यास, नुन र अन्य खानीको उत्खनन गरेर प्रयोगमा ल्याउँछौं ।’ रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस्