सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आजबाट देशैभरी सस्तो पसल सञ्चालन

सरकारले दशैँ र तिहारलाई लक्षित गर्दै आजदेखि उपत्यका सहित देशका २६ जिल्लामा सहुलियत पसल सञ्चालन गर्दैछ । दैनिक उपभोग्य वस्तुमा उपभोक्तालाई छुट दिने गरी साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत पसल सञ्चालनमा ल्याउने तयारी गरिएको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताउनु भएको छ ।

प्रवक्ता रेग्मीले भन्नुभयो–‘उपत्यकाका १३ स्थान र उपत्यका बाहिरका २३ स्थानबाट उपभोक्तालाई ७८ प्रकारका खाद्यान्नमा छुट दिने व्यवस्था मिलाएका छौं ।’ चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २, चामलमा १० रुपैयाँ छुट दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीका अनुसार सस्तो पसल सञ्चालनका लागी साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वय रहनेछ । सस्तो पसल आजदेखि कात्तिक २१ गतेसम्म सञ्चालनमा आउने बताईएको छ ।

sasto-pasal-file-photo

फाईल तस्विर

उपत्यकाका रामसाहपथ, थापाथली, नक्खु, जावालाखेल, बल्खु, टेकु, कोटेश्वर, सूर्यविनायक, बूढानीलकण्ठ, बौद्ध, सतुङ्गल, नयाँ बानेश्वर र कालिमाटीमा साल्ट ट्रेडिङले सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ । त्यसैगरी मोवाइल भ्यानबाट पनि उपत्यकाका घर दैलोमा सामान पु¥याउने व्यवस्था गरिएको छ ।

त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगञ्ज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुङ्ग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा आउनेछन् ।

सुपथ मूल्य पसलमा एक व्यक्तिले ३ किलो नुन र ६ किलोसम्म चिनी पाउनेछन । खाद्य संस्थानले खसीबोकामा पनि प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरेको छ । चाडपर्वकै लागि सरकारले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँँ छ ।

खुद्रा व्यापारी मार्फत पनि उपभोग्य वस्तुमा सहुलियत दिने व्यवस्था गरिएको छ । निजी क्षेत्रको भाटभटेनी सुपरमार्केटले पनि आफ्ना बिक्री कक्षबाट ८४ प्रकारका दाल तथा गेडागुडी, ८९ प्रकारका मसला, ३ किसिमका नेपाली खाने तेल, २४ किसिमका चामलसहित २ सय ६० वस्तुमा छुट दिने घोषणा गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्