उर्जामन्त्रीले यसरी हप्काए चिनियाँ ठेकेदारलाई
सार्वजनिक लेखा समितिले अनियमतिताको आरोपमा काम रोक्न निर्देशन दिएपछि दुई वर्षदेखि रोकिएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको साँघुरिएको सुरुङको काम अघि बढाउन चिनियाँ कम्पनी सहमत भएको छ ।
बिहिबार उर्जामन्त्री जनार्दन शर्माले आयोजना समयमै सम्पन्न गर्न ¥याख¥याख्ती पारेपछी चाईना गेजुवा काम अगाडी बढाउन सहमत भएको हो । मन्त्री शर्माले बिहीबार गेजुवाका महाप्रबन्धक चोउ स्याङझोङ सहितको टोलीलाई मन्त्रालयमै बोलाएर समय सिमा भित्र काम सक्न दबाबपुर्ण निर्देशन दिनुभएको हो ।
गेजुवाले १० वर्षदेखि अर्थात् सन् २००७ देखि चमेलिया निर्माणको ठेक्का लिएर अहिलेसम्म सम्पन्न गर्न नसकेको भन्दै मन्त्री शर्मा रिसाउनुभएको हो । ‘तपाईहरुले स्थगित भएको आयोजनाको निर्माण कहिले सुरु गर्ने र कहिलेसम्ममा सम्पन्न गर्ने ? मलाई यसको समय चाहियो,’ चाइनिज ठेकेदारलाई मन्त्री शर्माले भन्नुभयो–‘अब कुनै पनि बहानामा आलटाल गर्न पाइँदैन ।’
मन्त्री शर्माले भनेअनुसार आगामी असार मसान्तसम्म आयोजना सम्पन्न गर्न निकै कठिन भएको गेजुवाको जवाफप्रति मन्त्रीले तत्कालै असहमति जनाउनुभएको थियो । ‘आगामी असार मसान्तमा जुनसुकै हालतमा भए पनि आयोजना सम्पन्न गर्नुपर्छ,’ शर्माले भन्नुभयो–‘त्यसका लागि हाम्रो तर्फबाट गर्नुपर्ने कुनै काम भए हामी गर्न तयार छौं, मलाई परिणाम चाहियो परिणाम ।’
मन्त्री शर्माले पटकपटक ‘आयोजना कहिले सम्पन्न गर्ने ? मलाई एक्ज्याक्ट टाइम चाहियो’ भन्दै गेजुवाका प्रतिनिधिप्रति आक्रामक बन्नुभएको थियो । ‘आगामी असार मसान्तमा आयोजना सम्पन्न गर्नैपर्छ, तपाईहरु बनाउन सक्नुहुन्छ कि हुन्न ?’ मन्त्रीले फेरि प्रश्न गर्नुभयो । सो प्रश्नमा गेजुवाका प्रतिनिधिले सक्छौं भन्ने जवाफ दिएका थिए ।
मन्त्री शर्माले विद्युत प्राधिकरणका आयोजना प्रबन्धक र गेजुवाका आयोजना प्रबन्धक दुबैलाई आयोजना अवधीभर फिल्ड नछाड्न निर्देशन दिनुभएको छ । ‘तपाईहरु दुबैजनाले आयोजना सम्पन्न नभएसम्म फिल्ड छाड्न पाउनुहुन्न,’ शर्माले भने–‘मलाई ७–७ दिनमा प्रगति विवरण चाहिन्छ ।’
कुल ३० मेगावाट विद्युत उत्पादन क्षमताको सो आयोजनाको ९७ प्रतिशत निर्माण कार्य ०७१ सालमै सकिएको थियो । आयोजनाको सुरुङ खुम्चिए (स्कजिङ) पछि गेजुवाले थप पैसा मागेको थियो । विद्युत प्राधिकरणले थप रकम दिन नसकिने भनेपछी आयोजना प्रभावित हुँदै आएको थियो ।
चमेलिया नेपालको सबैभन्दा महंगो लागतको आयोजना बनेको छ । चमेलियाको लागत प्रति मेगाावट लागत ५४ करोड भन्दा बढि भईसकेको छ । जबकी, एक मेगावाट विद्युत उत्पादन गर्न १८ करोड रुपैयाँ लाग्ने सरकारी प्रतिवेदन छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्