बली चढ्न पाउनु पसुको भाग्य हो; प्रा.डा. गौतम
धर्मशास्त्रविद एवम नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले पशुको मुक्तिका लागि विधिपूर्वक बली दिनु शास्त्रीय परम्परा रहेको बताउनुभएको छ । आइतबार रिपोर्टर्स क्लबमा बोल्दै गौतमले भन्नुभयो–‘पशु बली दिनु हाम्रो शास्त्रमै उल्लेख छ, देवीलाई शक्ति प्रदान गर्नका लागि बली दिइने हो ।’
गौतमले भन्नुभयो–‘मुक्त हुनका लागि बली हुन पाउनु पशुको भाग्य हो, अदालतले जस्तो सुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन ।’ डा.गौतमले बजारमा हल्ला भएजस्तो बलीको संख्या नघटेको समेत दाबी गर्नुभएको छ ।
उहाँले देवीदेवतालाई दिइने बली प्रसादका रुपमा कसैले मासु खान्छ भने त्यो राम्रै हुने बताउनुभएको छ । शास्त्रमै उल्लेख भएकाले पशु बली रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने गौतमले चुनौति दिनुभएको छ ।
गौतमले भन्नुभयो–‘अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बली दिनुपर्छ, मुक्त हुनका लागि बली हुन पाउनु पशुको भाग्य हो । अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नुहुँदैन, विकृति रोक्नुपर्छ ।’
गृहस्थाश्रममा बसेर सुखसुविधा भोग गर्नेले अनिवार्य बली दिनुपर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष प्रा.डा.गौतमले दाबी गर्नुभएको छ । गौतमले भन्नुभयो–‘राज्य सञ्चालनका लागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्तिको आवश्यकता पर्छ, यी शक्ति प्राप्तिका लागि राज्यले दुर्गा यज्ञका बेलामा अनिवार्य बली दिनुपर्छ ।’
उहाँले अगाडी भन्नुभयो–‘प्रभुशक्ति राज्यको कोष वृद्धिसँग सम्बन्धित छ, राज्यमा राम्रो नीति निर्धारणका लागि मन्त्रशक्तिको आवश्यकता पर्छ, राज्यको रक्षा गर्ने सेना र प्रहरीको उत्साह बढाउन उत्साहशक्ति बढाइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।’
दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्ने गौतमले बताउनुभयो । दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलीप्रथाको सुरुवात भएको डा. गौतमले श्पस्ट पार्नुभयो ।
उहाँका अनुसार राज्य सञ्चालन गर्ने क्षत्रीयमा बली दिनैपर्ने मान्यता रहेको छ । गौतमका अनुसार बली तीन प्रकारका हुन्छन्ः सात्विक बली, राजस बली र तामस बली । चन्दन, अक्षता, फूल, अघ्र्य, पञ्चामृत आदिले पूजा गर्ने विधिलाई सात्विक बली भनिन्छ ।
सात्विकका साथै पशुपंक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बली भनिन्छ । सात्विक र राजस दुवै विधि सहित रक्सी समेत चढाएर गरिने पूजा विधिलाई तामस बली भनिने गौतमले स्पष्ट पार्नुभयो । गुहृयेश्वरी मन्दिरमा तामस विधिबाट बली दिने परम्परा रहेको उहाँले बताउनुभयो ।
पशुबली दुर्गा पक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशु मुक्तिका लागि भनेर संकल्प र प्रार्थना गरी दिने विधि रहेको उहाँले बताउनुभयो । मासु नखाने (शाकाहारी) ले पनि बली दिएर सुँघेर छोड्ने परम्परा समेत रहेको गौतमले उल्लेख गर्नुभयो ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्