राष्ट्रपतिको शुभकामना देखि टिका ग्रहणसम्म
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान पर्व बडादशैं, तिहार, नेपाल सम्वत र छठका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा राष्ट्रपतिले हाम्रा चाडपर्वहरू अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीको प्रतीकका रुपमा रहेको बताउनुभएको छ ।
सन्देशमा भनिएको छ–‘विजया दशमीले हिमाल, पहाड, तराई–मधेस तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सदभाव एवं आपसी भ्रातृत्व कायम गर्नसमेत सफल रहोस भन्ने कामना गर्दछु ।’
नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन पनि राष्ट्रपतिले आग्रह गर्नुभएको छ ।
हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सदभाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको राष्ट्रपतिको भनाइ छ ।
राष्ट्रपतिद्वारा दसैँघरका मूल पुजारीबाट टीका ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ०८ः४५ बजेको शुभ साइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । दसैंघरका मूल पुजारी अर्यालले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै राष्ट्रपतिलाई जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो ।
मूल पुजारीबाट टिका ग्रहण गरिसकेपछी राष्ट्रपति भण्डारीलाई उहाँका काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाइदिनुभएको थियो । त्यसपछी राष्ट्रपति भण्डारीले छोरी उषाकिरणलाई टीका लगाइदिनुभएको थियो ।
त्यसपछी राष्ट्रपति भण्डारीले आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिनुभएको थियो । राष्ट्रपतिले अपरान्ह २ बजेदेखि सर्वसाधारणलाई दसैँको टिका लगाईदिनुभएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्