सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

शरणार्थी तत्काल फिर्ता लैजान भुटानी प्रधानमन्त्रीलाई दबाब

puspakamal-dahal-and-tshiring-togb

ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्ने वातावरण तयार गर्न भुटान सरकारसँग आग्रह गर्नुभएको छ । भुटानि समकक्षी छिरिङ तोब्गेसँगको भेटमा दाहालले भुटान फर्कन चाहाने शरणार्थीको चाहनालाई सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले शरणार्थी समस्याको समाधानले दुई देशबीचको सम्बन्धलाई अँझ बढी उचाइमा पुर्याउने उल्लेख गर्दै त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गर्नुभएको थियो । दुई देशका साझा समस्यालाई आपसी सहयोगमा समाधान गर्ने र मिलेर अगाडि बढ्ने विषयमा वार्ता भएको थियो ।

प्रधानमन्त्री दाहालले समकक्षि तोब्गेसँग सार्क सम्मेलन गर्ने उपयुक्त वातावरण बनाउने सम्बन्धमा पनि छलफल गर्नुभएको थियो । दाहालले सार्कलाई गति दिनका लागि दुई देश मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिनुभएको छ ।

भुटानी प्रधानमन्त्रीसँग नेपाल, भारत, भुटान र बङ्गलादेश सहितको सार्क उपक्षेत्रीय समूहका मुलुकले ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा मिलेर अगाडि बढ्ने र त्यसका लागि साझा धारणा तय गर्ने विषयमा पनि छलफल भएको थियो ।

भेटघाटका क्रममा भुटानी प्रधानमन्त्री तोब्गेले द्विपक्षीय हितका विषयमा भुटान सकारात्मक रहेको र शरणार्थीका विषयलाई चाँडो समाधान गर्न पहल गर्ने बताउनुभएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्