लोकमानको घरमा म्याद टाँस्ने टोलीमाथि अवरोध
तस्विर पहिलोपोष्ट अनलाईनबाट
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएको सर्वोच्च अदालतको टोली आज पनि म्याद टाँस्न असफल भएको छ । आफुलाई सामसुङको कर्मचारी बताउने १०–१५ जना युवाहरुको एउटा समुहले अवरोध गरेपछी सर्वोच्चको टोली सुचना नटाँसी फर्किएको हो ।
सोमबार कार्कीको मध्यबानेश्वरमा रहेको घरमा म्याद टाँस्न पुगेको सर्वोच्चका दुई तामेलदारको टोलीलाई सो समुहले कार्कीको घर आफुहरुले भाडामा लिएको भन्दै सुचना टाँस्न अवरोध गरेको थियो । सर्वोच्चको टोलीलाई अवरोध गर्ने समूहको नेतृत्व भने उनकै कान्छा ज्वाइँ प्रवल थापाले गरेको खुलासा भएको छ ।
सामसुङका कर्मचारी बताउने कार्कीका ज्वाईँ प्रवल थापा नेतृत्वको सो समूहले त्यहाँ म्याद टाँस्न नदिने बताउँदै टाँस्ने भए अख्तियारमै गएर टाँस्न भन्दै धम्क्याएका थिए । समाचारको फोटोमा क्याप र कोठे सर्ट लगाएका (रातो गोलो भित्र) ब्यक्तिले म्याद टाँस्न अवरोध गर्ने समूहको नेतृत्व गरेका थिए ।
तस्विरमा देखिएका व्यक्ति लोकमानका कान्छी छोरी आकृती कार्कीका श्रीमान् हुन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाका भान्जा प्रवल नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समिति सदस्य हुन् । गत १३ औं महाधिवेशनबाट उनी काठमाडौं कांग्रेस जिल्ला कार्य समितिमा चुनिएका थिए ।
लोकमानका छोरी ज्वाईँ विवाहको बेला मामा गणेश थापासँग
सर्वोच्चको टोलीलाई अवरोध गर्ने समुहको नेतृत्व गरेको बिषयमा सञ्चार माध्यममा समाचार आएपछी लोकमानका ज्वाईँ प्रवल थापाले आफ्नो र श्रीमती आकृतिको फेसबुक एकाउन्ट समेत सस्पेन्ड गराएका छन् । सर्वोच्चको टोलीलाई अबरोध गर्ने कार्यमा संलग्न भएकोबारे बुझ्दा उनले आफु त्यहाँ नभएको बताएका छन् ।
अख्तियारको प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै अदालतमा दर्ता भएको पुरानो मुद्धाको पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीलाई अदालतमा उपस्थित हुन म्याद टाँस्न लागिएको थियो ।
अधिवक्ता ओममप्रकाश अर्यालले दायर गरेको कार्की विरुद्धको मुद्धा सर्वोच्च अदालतले पहिले खारेज गरेको थियो । एक महिना अघि प्रधानन्यायाधीश सुशिला कार्की सहितको इजलाशले लोकमानको मुद्धा पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।
अख्तियार प्रमुख कार्की विदा लिएर क्यानडामा बसिरहेका छन् । उनको घरमा म्याद टाँस्ने सर्वोच्चको प्रयास बारम्बार असफल हुँदै आएको छ । यसअघि म्याद टाँस्न सर्वोच्चले पठाएका तामेलदार म्याद नटाँसी दुई हप्तासम्म सम्पर्कबिहिन भएर बसेपछि सर्बाेच्चले सोमबार अर्का दुई तामेलदारलाई म्याद टाँस्न पठाएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्