सरकारले गायव गर्यो दरबारले बुझाएका दस्तावेज
तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुपूर्व पारदर्शी र औपचारिक रूपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका अधिकांश दस्ताबेज गायब भएका छन् । राजदरबारले ति ऐतिहासिक तथा संस्थागत दस्तावेज आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोटेलको समितिलाई बुझाएको थियो ।
राजदरबारले त्यतिबेला बुझाएका सबै दस्तावेजहरू बचेका छिन्नभिन्न अवस्थामा रहेको र प्राय; गायब भएको सरकारका उच्चपदस्थ र जिम्मेवार अधिकृतहरूले बताएका छन् । ती दस्ताबेज के–के थिए र अहिले कुन अवस्थामा कहाँ छन् भन्ने सरकारसँग कुनै अभिलेख समेत छैन ।
तत्कालीन संविधानसभाले राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरे लगत्तै दरबारका कर्मचारीले त्यहाँ भएका सबै दस्ताबेज राष्ट्रिय सम्पत्तिका रूपमा संग्रहालय बनाएर राखियोस भनेर नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । त्यतिबेला दरबारले डकुमेन्टको प्रकृति हेरेर अधिकांश परराष्ट्र मन्त्रालयलाई, केही गृह, केही सामान्य प्रशासन र केही नेपाली सेनालाई बुझाएको थियो ।
अहिले ती दस्ताबेज कहाँ छन भन्ने कसैलाई स्पष्टसँग थाहा छैन । परराष्ट्र मन्त्रालयका दुई वटा कोठामा ताला लगाएर केही फाइल छरपष्ट फालिएको छ तर त्यहाँ के छ भन्ने रेकर्ड मन्त्रालयसँग छैन । कतिपय महत्वपूर्ण दस्ताबेज धमिराले खाएका छन भने कतिपयमा ढुसी लागेर अक्षर मेटिएका छन् । गृह र सामान्य प्रशासन मन्त्रालयमा अहिले दरबारका कुनै दस्ताबेज छैनन् ।
तत्कालीन राजाहरूले स्वदेश र विदेशमा गरेका विभिन्न भेटघाटका डकुमेन्टेसन गर्ने चलन थियो । ती सबै डकुमेन्टहरू तत्कालीन राजदरबार संवाद सचिवालयले नेपाल सरकारलाई बुझाएको थियो । दरबारसँगका विभिन्न देशको सम्बन्ध, व्यक्तिगत चिठी आदानप्रदानदेखि राजतन्त्र भएका मुलुकका राजाहरूको विभिन्न समयमा भएका कुराकानीको रेकर्ड पनि ती दस्ताबेज भित्रै थिए । विशेषगरी नेपालले विभिन्न देशसँग लिएको परराष्ट्रनीतिलाई पनि लिखित रूपमा संग्रहीत गरिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्