सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लोकमानको म्याद टाँस्न सर्वोच्च बल्ल सफल

high-court

बिभिन्न अवरोध र असहयोगका बापजुद अन्तत; अख्तियार प्रमुख लोकमान सिंह कार्कीको म्याद तामेल भएको छ । लामो प्रयासपछि सोमबार साँझ बानेश्वर स्थित कार्कीको घरमा म्याद तामेल भएको प्रतिवेदन दामेलदारहरुले मंगलबार अदालतमा बुझाएका छन ।

लोकमानलाई अदालतमा उपस्थित हुन काटिएको म्याद तामेल भएसंगै मुद्दा पेशीमा चढ्ने बाटो खुलेको छ । सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले लोकमानको नाममा म्याद तामेल भएको जानकारी दिएका छन् । कसरी म्याद बुझाएको भन्नेबारे प्रवक्ता सुवेदीले केही बताएका छैनन ।

सर्वोच्च स्रोतका अनुसार वडा सचिव सरिता राईको रोहवरमा लोकमानको घरमा म्याद टाँसेको भन्ने मुचुल्का बनाएर तामेलदारहरुले सर्वोच्च प्रशासनलाई प्रतिवेदन बुझाएका छन् । म्याद तामेलसंगै अबको १५ दिनभित्र लोकमान आफैं वा प्रतिनिधि अदालतमा उपस्थित हुनुपर्नेछ । त्यसो त कार्कीले ३० दिनको म्याद थप्न पाउने छन् ।

सोमबार बिहान बानेश्वर हाइट स्थित लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई त्यहाँ उपस्थित करिब १ दर्जन युवाहरूको समूहले म्याद टाँस्न नदिएपछि सर्वोच्च अदालतका दुई तामेलदार म्याद नटाँसी फर्किएका थिए ।

म्याद टाँस्न असफल भएपछि उनीहरु वडा सचिवको सहयोग लिन वडा कार्यालय गएका थिए । वडा सचिवको रोहवरमा तामेलदारहरुले एउटा कागज बनाएका थिए । त्यो कागज वडासचिव राईले पढेरै सुनाएकी थिइन् ।

उक्त कागजको व्यहोरामा लेखिएको थियो–‘उक्त घरमा लोकमानसिंह कार्कीलाई फेला पार्न नसकिएको र एकाघरका मानिस कोही नभेटेकाले निजको नामको म्याद सूचना पूर्व फर्केको घरदैलोमा टाँस गरिदिएको छु ।’ वडा सचिव राईले त्यो कागजमा कैफियत लेखेर सही गरिन् कि गरिनन् अहिलेसम्म खुलेको छैन ।

अख्तियार प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै अदालतमा दर्ता भएको पुरानो मुद्धाको पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीलाई अदालतमा उपस्थित हुन म्याद टाँसिएको हो । कार्की देशबाहिर रहेकाले अदालतमा उपस्थितिका लागि उनको घरमा म्याद टाँस्न सर्वोच्चले तामेलदारलाई खटाएको थियो ।

अधिवक्ता ओममप्रकाश अर्यालले दायर गरेको कार्कीविरुद्धको मुद्धा सर्वोच्च अदालतले पहिले खारेज गरेको थियो । एक महिना अघि प्रधानन्यायाधीश सुशिला कार्की सहितको इजलाशले लोकमानको मुद्धा पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।

पुनरावलोकनको निर्णयलगत्तै अख्तियार प्रमुख कार्की आफ्नो पुर्वनिर्धारीत भ्रमणमा क्यानडा गएका थिए । सरकारी भ्रमण सकिएपछि उनी घरविदा लिएर पछिल्लो एक महिनादेखि क्यानडामै बसिरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्