लोकमानको म्याद नबुझाउनेलाई जेल र जरिवाना
सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेली नगरी र्फकने तामेलदार शम्भुबहादुर खत्री, म्याद तामेलमा असहयोग गर्ने काठमाण्डौ महानगरपालिका वडा नं १० की सचिव सरिता राई र खरदार सुभाष आचार्यलाई कारबाही गर्न सिफारीस गरेको छ ।
तामेलदार खत्री, वडासचिव सरिता राई र वडाका खरदार सुभाष आचार्यलाई अदालती बन्दोबस्तको १११ नम्बर बमोजिम कारबाही हुनुपर्ने भन्दै सर्वोच्चका रजिष्ट्रार श्रीकान्त पौडेलले आइतबार इजलास समक्ष प्रतिवेदन पेश गरेका थिए ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले उक्त नियम अनुसार किन कारबाही गर्नु नपर्ने भन्दै तीनै जनालाई जवाफ माग गरेको छ । इजलासले तीनै जनालाई सात दिनभित्र आफैं उपस्थित भएर सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउन आदेश दिएको छ ।
तामेलदार खत्रीले जिम्मा पाएको म्याद बदनियत राखेर तामेल नगरेको र वडासचिव राई र खरदार आचार्यले म्याद तामेल कार्यमा अदालतलाई सहयोग नगरि बाधा पु¥याएको भन्दै टिप्पणी उठाएर रजिष्ट्रारले इजलासमा पेश गरेका थिए ।
मुलुकी ऐन अदालती बन्दोबस्तको १११ मा बदनियत राखी म्याद तामेल नगर्ने तामेलदारलाई कानुनी कारबाही हुन सक्ने व्यवस्था गरिएको छ । ऐन अनुसार, यसरी म्याद तामेल नगर्ने तामेलदारलाई १५ दिन कैद वा एक हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
अख्तियार प्रमुख कार्कीको नियुक्ति विवादका विषयमा सर्वोच्चले पुनरावलोकन गर्ने फैसला सुनाएको थियो । सर्वोच्चले १५ दिन भित्र अदालतमा उपस्थित हुनु भन्दै असोज ९ गते लोकमानका नाममा म्याद सूचना सम्बन्धि पत्र काटेको थियो ।
तामेलदार खत्रीले म्याद तामेल नगरे पछि सर्वोच्चले अर्का तामेलदार वलदेव महतोलाई लोकमानको घरमा म्याद तामेल गर्न पठाएको थियो । महतोले सोमबार साँझ लोकमानसिंहको घरमा म्याद तामेल गराएको सर्वोच्च अदालतले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्