लोकमानले क्यानडाबाटै थपे १० दिनको विदा
सर्वोच्च अदालतले मुद्दा तामेलीको प्रयास गरिरहेका बेला अख्तियार प्रमुख लोकमान सिंह कार्कीले क्यानडाबाटै थप १० दिन विदा स्वीकृत गराएका छन् । अख्तियार प्रमुख कार्की असोज ३ गते एउटा कार्यक्रममा सहभागी हुन भन्दै क्यानडा गएका थिए ।
कार्कीले शुरुमा असोज ३ देखि २१ गतेसम्म क्यानडामा भ्रष्टाचार निवारणसँग सम्वन्धित निकायको बैठकमा भाग लिन भन्दै विदा स्वीकृत गराएका थिए । त्यसपछी दशैं विदा सकिएको भोलिपल्टै असोज २८ गतेदेखि ३० गतेसम्म थप दुई दिनको विदा स्वीकृत गराएका थिए ।
त्यसपछि कार्कीले पुनः कात्तिक १ देखि १० गतेसम्म विदा मागेको र राष्ट्रपति कार्यालयले विदा स्वीकृत समेत गरिसकेको राष्ट्रपतिको कार्यालय स्रोतले बताएको छ । क्यानडामा रहेका कार्कीले विदा स्वीकृत गराउन पठाएका हरेक पत्र आयोगको लेटरहेडमा रहेको पनि राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।
क्यानडामा भएका व्यक्तिले कसरी आयोगको लेटरप्याडमा विदा फारम भरे भन्ने सन्दर्भमा भने राष्ट्रपति कार्यालय स्रोतले बताउन चाहिरहेको छैन । दशैं विदामा बसेका कार्कीले असोज २८ गतेदेखि ३० गतेसम्म भैपरि विदा भन्दै स्वीकृत गराएका थिए ।
उनले पुनः कात्तिक १ देखि १० गतेसम्म घर विदा स्वीकृत गराएको राष्ट्रपति कार्यालयले जनाएको हो । सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बेला अनेक बहानामा बिदा थप्दै विदेश बस्नुले कार्कीको नियतमाथि प्रश्न उठेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्