देश टुक्र्याउने चेतावनी दिए कांग्रेस सांसदले
सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवं सांसद फरमुल्लाह मन्सुरले संविधान संशोधन नभए नेपाल टुक्र्याउने धम्की दिएका छन । उनले मधेसी, मुस्लिम र थारुका माग सम्बोधन नभए नेपालको हालत पाकिस्तानबाट बंगलादेश टुक्रिए जस्तै हुने चेतावनी दिएका हुन ।
मंगलवार संसदमा विशेष समय लिएर बोल्दै कांग्रेस नेता फरमुल्लाह मन्सुरले भने–‘पाकिस्तानमा सत्तरीको दशकमा यसैगरी पूर्वी पाकिस्तानका मुस्लिमले आफ्नो शासन आफैं चलाउने अधिकार माग्दा राज्यले नदिएपछि पूर्वी पाकिस्तान फुटेर बंगलादेश बनेको स्मरण गराउन चाहान्छु ।’
संविधान संशोधन नभई कुनै पनि तहको निर्वाचन हुन नसक्ने भन्दै मन्सुरले आफूहरुले असहमति राखेर संविधानसभामा मतदान गरेको बताएका छन । सिमांकन पुनरावलोकनको माग राख्दा राष्ट्रियताको कुरा उठाइएको भन्दै मन्सुरले अब काठमाडौंबाट मधेस शासित नहुने बताएका छन ।
संविधानसभाका पुर्व अध्यक्ष सुवास नेम्वाङले ९० प्रतिशतले जारी गरेको संविधान १० प्रतिशतले मान्दिन भन्दैमा बिना औचित्य संशोधन हुँदैन भनेकोतर्फ संकेत गर्दै उनले यसो भनिएमा देश टुक्रिन सक्ने उदाहरण दिएका हुन ।
उनले भने–‘९० प्रतिशतले संविधान जारी गरेको भन्नेहरुलाई म स्मरण गराउन चाहान्छु कि, हामीले त्यसबेला रिजर्भेशन राखेर मतदान गरेका हौं, तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले रोष्टममा उभिएर मधेसी, थारु र मुस्लिमको माग बमोजिम संसदको पहिलो बैठकले संविधान संशोधन गर्छ भन्नुभएपछि हामी मानेका थियौं ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्