सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लोकमानविरुद्ध महाअभियोग दर्ता, पदबाट निलम्वित

lokman-singh-karki

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका १५७ जना सांसदले बुधबार व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन ।

सभामुख ओनसरी घर्तीमगरले संविधानको धारा १०१ बमोजिम ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरे लगत्तै सांसदहरुले कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । महाअभियोगको प्रस्तावकमा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही रहेका छन भने समर्थकमा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल छन ।

प्रस्तावमा सरकारका मन्त्री जनार्दन शर्मासहित चार मन्त्री र एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल र सुवास नेम्वाङको पनि हस्ताक्षर छ । महाअभियोग प्रस्ताव दर्ता गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा वलीबीच छलफल भएको थियो ।

संविधानमा भएको व्यवस्था अनुसार महाअभियोग दर्ता भएसँगै अख्तियार प्रमुख लोकमान सिंह कार्की स्वतः ‘निलम्बित’ भएका छन् । महाअभियोग प्रस्ताव दर्ता भएपछि संविधानको धारा १०१ को उपधारा ६ अनुसार त्यसको टुंगो नलागेसम्म सम्बन्धित पदाधिकारी ‘निलम्बित’ अवस्थामा रहने व्यवस्था छ ।

महाअभियोग प्रस्ताव व्यवस्थापिका संसदको दुई तिहाइ बहुमतले पारित भएमा संविधानको धारा १०१ को उपधारा २ अनुसार लोकमान स्वतः पदमुक्त हुनेछन । साथै कार्की भविश्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयनका लागि समेत अयोग्य ठहरिनेछन । यद्यपि उनले सफाइको मौका भने पाउने छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्