सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतले बनाउँदैछ दशगजा भित्र भव्य गुम्वा

gumba-which-is-making-india-in-border

भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्राम पञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण गर्न सुरु गरेको छ । भारतले काठले बनेको पुरानो टासीछङ्लिङ गुम्बा भत्काएर सामुदायिक हल सहितको भव्य पक्की गुम्बा बनाउने तयारी गरेको हो ।

गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङले रकम दिने आश्वासन दिएपछि गुम्बा बनाउन थालेको जानकारी स्थानीयले दिएका छन । त्यसका लागि भारत सरकारका तर्फबाट गुरुङले भारु ६० लाख निकासा गराएको स्रोतले दाबी गरेको छ ।

गुम्बा बनाउने विषयमा तीन महिनाअघि छलफल हुँदा नेपाली पक्षले दसगजा भित्र पर्ने भन्दै विरोध जनाएको थियो । अहिले भने गुम्बा आसपासका टहरा भत्काउन सुरु गरिएको छ । जीटीए प्रमुख गुरुङले भने–‘धार्मिक र पर्यटकीय कुरा हो । हामी काम रोक्दैनौं ।’

स्थानीयका अनुसार गुम्बा बनेपछि दुवै देशलाई फाइदा हुने भन्दै निर्माणको काम थालिएको छ । पशुपतिनगरका अगुवा मिलन क्षत्रीले तीन महिनाअघि नेपाली पक्षको विरोधका कारण स्थगित गरिएको काम पुनः सुरु भएपछि नेपाल तर्फका बासिन्दाले दसगजामा भइरहेको क्रियाकलाप रोक्न स्थानीय प्रशासनलाई अनुरोध गरेका छन ।

क्षत्री भने–‘संरचना हटाउने काम सुरु भएको छ । चाँडो चासो लिन स्थानीय प्रशासनलाई भनेका छौं ।’ पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालय प्रमुख मोहनलाल पनेरूले तीन महिनाअघि नेपालको दबाबमा रोकिएको गुम्बा निर्माणको काम भारतले फेरि सुरु गर्न थालेको बताएका छन ।

पनेरुले भने–‘दसगजा क्षेत्र नो म्यान्स ल्यान्ड हो । त्यहाँ कुनै देशले केही निर्माण गर्न र कुनै पनि गतिविधि गर्न पाउँदैन तर भारतीय पक्षले बलमिच्याइँ गरी काम सुरु गरेको छ ।’ पनेरूले जिल्ला प्रशासन कार्यालय इलामलाई औपचारिक रूपमा यसबारे जानकारी गराइसकेका छन् ।

फाटकमा नेपाली भूमिमा चार वर्षदेखि भारतीय प्रहरीको पोस्ट राखिएको छ भने दसगजामै कस्टम कार्यालय बनाएको बर्सौं भईसकेको छ । पोहोर मात्र भारतीय प्रहरीले दशगजा भित्र पर्ने गरी किचन बनाएको छ । यसबारे जानकारी गराए पनि प्रशासनले कुनै वास्ता नगरेको स्थानियले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्