सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

केपी ओलीको हस्ताक्षर गायब पार्नुको रहश्य

kp-oli-signature-gayab

निलम्बित अवस्थामा रहेका अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबाट एमाले अध्यक्ष केपी ओलीको हस्ताक्षर हराएको छ । प्रस्तावमा ओलीले पनि हस्ताक्षर गरेका थिए तर दर्ता गर्ने बेलामा ओलीको हस्ताक्षर हटाइएको थियो ।

संसदमा दर्ता भएको प्रस्तावमा हस्ताक्षरकर्ता एमाले सांसदहरुको पहिलो नम्बरमा अध्यक्ष ओलीको हस्ताक्षर थियो तर सूची २ नम्बरबाट सुरु भएको छ । सुचीको २ नम्बरमा झलनाथ खनालको हस्ताक्षर छ भने ३ र ४ नम्बरमा क्रमशः माधव नेपाल र सुवासचन्द्र नेम्वाङले हस्ताक्षर गरेका छन । पहिलो नम्बरमा हस्ताक्षर गरिसकेका ओलीको नाम छोपेर फोटोकपी गरिएको छ ।

संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा एमालेको तर्फबाट पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, पूर्व सभामुख सुवास नेम्वाङका साथै अमृतकुमार बोहोरा, भीम रावल, सत्यनारायण मण्डल, अग्नि खरेल, शेरधन राई, पार्वत गुरुङ समेतको हस्ताक्षर छ ।

महाअभियोग प्रस्तावमा एमाले अध्यक्ष ओलीको हस्ताक्षर हटाइए पनि महाअभियोग दर्ता प्रक्रियामा उनको भूमिका निर्णायक नै रहेको एमाले र माओवादी नेताहरुले बताएका छन् । संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्नुअघि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्नुअघि सभामुखको कार्यकक्षमा दुई नेताबीच गोप्य छलफल भएको थियो । छलफलमा लोकमानलाई महाअभियोग लगाउन दुबै नेता सहमत देखिएका थिए । छलफलमा प्रचण्डले सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुरा गर्नुपर्छ भनेका थिए ।

त्यसपछि प्रचण्डले संसदलाई सम्बोधन गरे लगतै फेरि तीन नेताबीच संसद भवनकै शंकर हलमा अर्को छलफल भएको थियो । त्यो छलफलमा तीनैजना नेताहरु लोकमानलाई महाअभियोग लगाएर हटाउन सहमत भए तर देउवाले यसबारे पार्टीमा छलफल गर्नुपर्ने बताए ।

स्रोतका अनुसार प्रचण्ड र देउवासँग छलफल गर्दै गर्दा एमाले अध्यक्ष ओली केही रिजर्व बसेका थिए । उनले आजै अभियोग दर्ता हुँदैछ भनेनन तर लोकमानलाई हटाउन देउवा र प्रचण्डलाई उनले सैद्धान्तिक रुपमा सहमत गराए । त्यसबेला ओलीले महाअभियोग प्रस्तावका लागि हस्ताक्षर गरिसकेका थिए ।

जब देउवाले पार्टीमा छलफल गर्नुपर्छ भन्दै हस्ताक्षर गर्न मानेनन त्यसपछी एमालेका केही नेताहरुले ओलीलाई आफ्नो हस्ताक्षरबारे पुनर्विचार गर्न सुझाए । प्रचण्ड र देउवाको हस्ताक्षर नभएकाले ओलीको पनि नराखौं भन्ने सल्लाह पार्टीका शीर्षनेताहरुबाटै आएपछि ओलीको हस्ताक्षर हटाइएको एमाले उच्च स्रोतले बताएको छ ।

त्यही छलफलपछि नै पहिलो नम्बरमा रहेको ओलीको हस्ताक्षरलाई हटाइएको हो । संसदमा दर्ता भएको महाअभियोग प्रस्तावसँगै संलग्न एमाले सांसदहरुको हस्ताक्षरको पन्नामा त्यही भएर १ नम्बर उल्लेख नभएको हो ।

महाअभियोगमा माओवादीका ४० सांसदले हस्ताक्षर गरे पनि उसले सुरुमा यसको स्वामित्व लिन निकै धर्मरायो । अहिले आएर माओवादी समेत महाअभियोगमा दृढ देखिएको छ । नेपाली कांग्रेसले अँझै निर्णय गर्न सकेको छैन । लोकमानबारे कांग्रेसमा छलफल लम्बिएको छ ।

नेकपा एमाले भने महाअभियोग प्रस्तावको पक्षमा निकै दृढ देखिएको छ । एमालेको सिंगो नेतृत्व पंक्ति नै यो प्रस्ताव पारित गराउन लागिपरेको छ । महाअभियोग प्रस्तावमा एमालेका ११७ सांसदले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्