सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कांग्रेसमा मर्यादाक्रमको किचलो, चर्चितहरु पछाडी

nepali-congress

कांग्रेसका पाँच नेताले मर्यादाक्रम नमिलेको भन्दै १३ औँ महाधिवेशन पछि बसेका चारवटै केन्द्रीय कार्य समितिको बैठकमा हस्ताक्षर गरेका छैनन् । आफूहरूको ‘सिनियारिटी’ अनुसार मर्यादाक्रम नमिलेको भन्दै पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कुलबहादुर गुरुङ, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महत र केन्द्रीय सदस्य रमेश लेखकले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेका हुन् ।

लेखक पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । पाँच नेतामध्ये १३औँ महाधिवेशनबाट श्रेष्ठ, गुरुङ, महत र लेखक खुला २५ बाट निर्वाचित भएका थिए । महामन्त्रीमा पराजित भएपछि केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । पाँच नेतामध्ये चारजना सभापति देउवा पक्ष र महत एक मात्र पौडेल पक्षीय नेता हुन ।

चैतको पहिलो साता बसेको केन्द्रीय समिति बैठक अघि बनाइएको मर्यादा क्रममा सिनियर नेताहरूले असन्तुष्टि जनाएका हुन । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको विषयमा कुनै विवाद छैन । तर, त्यसपछि को रहने भन्ने विषयमा विवाद छ । अहिलेको क्रममा पूर्व उपसभापति प्रकाशमान सिंह पाचौँ नम्बरमा छन ।

पछिल्लो महाधिवेशनमा सभापतिमा पराजित कृष्ण सिटौला छैटौँ, पूर्व उपसभापति गोपालमान श्रेष्ठ सातौँ र देउवाका विश्वासपात्र मानिने पूर्वमहामन्त्री विमलेन्द्र निधि आठौँ नम्बरमा छन । पूर्व महामन्त्री कुलबहादुर गुरुङ नवौँ, उपसभापतिको दाबी गरिरहेका खुमबहादुर खड्का १०औँ, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव ११औँ र पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का १२औँ नम्बरमा छन् ।

मर्यादाक्रमप्रति असन्तुष्टि जनाउने पूर्वसहमन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी क्रमशः १३ र १४औँ नम्बरमा छन । महाधिवेशनमा महामन्त्री पदमा पराजित चर्चित युवा नेता गगन थापा ४८ औँ नम्बरमा छन । महाधिवेशनमा लोकप्रिय मत ल्याएका युवा नेता प्रदीप पौडेल ५७औँ र रमेश लेखक पुछारबाट पाचौँ नम्बर (६७)मा छन । त्यस्तै, शेखर कोइराला ३२औँ र विश्वप्रकाश शर्मा ६५औँ नम्बरमा छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्