कुवेतमा ज्यान गुमाएकाको परिवारलाई १ करोड
कुवेतमा ज्यान गुमाएका खोटाङ, मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु. एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु. ९८ लाख दश हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो ।
राईले काम गर्ने कम्पनीबाट जिल्ला प्रशासन कार्यालयमा आएको रकम मृतककी आमा सुभद्रालाई उपलब्ध गराइएको प्रजिअ चन्द्रबहादुर कार्कीले बताएका छन । मृतकका परिवारले पाएको उक्त रकम जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जिप्रकाले जनाएको छ ।
कुवेतमा दुई वर्ष बसेर घर फर्केपछि पुनः कुवेत पुगेका चन्द्रबोलको तीन महिनापछि विसं २०७१ साउन १३ गते गाडी दुर्घटनामा मृत्यु भएको उनका भाइले सन्तोषले बताएका छन । छुट्टीमा घर आएका समयमा विवाह गरेर कुवेत गएका राईको तीन महिनापछि नै मृत्यु भएपछि उनकी श्रीमती दोस्रो विवाह गरेर अन्यत्र गएकी छन् ।
श्रीमानको मृत्यु भएपछि कम्पनीले दिने क्षतिपूर्ति बापतको रकमका लागि कागजी प्रक्रिया मिलाइदिएर उनी अर्कैसँग विवाह गरेर गएको स्थानीयवासीले बताएका छन् । राईकी श्रीमती अर्कैसँग विवाह गरेर गएपछि हकवालाका रुपमा उनकी आमा सुभद्रालाई चेकमार्फत क्षतिपूर्ति रकम उपलब्ध गराइएको प्रशासनले जनाएको छ । रासस
फेसबुकबाट कमेन्ट गर्नुहोस्