अष्ट्रेलियन दुतावास जापानको उच्च पदमा नेपाली
अष्ट्रेलियाको केन्द्रीय राजधानी क्यानवेरामा उच्च सरकारी सेवामा कार्यरत नेपाली अर्थशास्त्री डा. कृष्ण हमालको परिवार शनिबार निकै भावुक र खुशी दुबै थियो । हमाल परिवारको खुशी र भावकुताको कारण उनकी छोरी नताशा हमाल थिइन् ।
किनकी नताशा जापानको टोकियोस्थित अष्ट्रेलियन दूतावासमा प्रथम सचिव बनेकी छन् । उनी पदभार ग्रहण गर्न शनिबार टोकियो आएकी छिन् । उनका पिता डा. कृष्ण हमालले नताशाको नियुक्तीको भावकुता र खुशीलाई फेसबुक मार्फत व्यक्त गरेका छन ।
हमालले आइतबार आफ्नो फेसबुक वालमा लेखेका छन–‘दुःखी तर जापानको अष्ट्रेलियन दूतावासमा प्रथम सचिवका रुपमा कुटनीतिक पदभार ग्रहण गर्न जान लागेकी हाम्री छोरीप्रति निकै खुशी । बधाई छोरी तिमीले हामीलाई निकै गौरवान्वित बनायौ । तिमी र ज्वाईंसाबको सुरक्षित यात्रा र सुखद टोकियो बसाईको कामना ।’
नताशाका बुवा डा. कृष्ण हमाल अष्ट्रेलियाको केन्द्रीय सरकारको पूर्वाधार तथा क्षेत्रीय विकास विभागमा वरिष्ठ अर्थशास्त्रीको रुपमा कार्यरत छन् । डा. हमालले नताशाको नियुक्तिलाई परिवार र अष्ट्रेलियावासी नेपालीका लागि गौरवको कुरा भएको बताएका छन ।
नताशाले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्र र बजारशास्त्रमा स्नातक तथा सर्टिफाइड पब्लिक अकाउन्टेन्ट (सीपीए) अध्ययन पूरा गरेकी छन् । उनले आठ वर्ष अघि अष्ट्रेलियाको अर्थमन्त्रालयको वित्त बिभागबाट त्यहाँको सरकारी सेवामा प्रवेश गरेकी हुन् ।
त्यसपछि उनी अष्ट्रेलियन एडको सेवामा हुँदा सर्विया, भानुआटु, पपुवा न्युगिनी, सिंगापुर लगायतका देशमा पुगेर अष्ट्रेलियन सरकारको प्रतिनिधिका रुपमा काम गरीसकेकी छिन । अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयले कुटनीतिक सेवाका लागि लिएको परीक्षामा छनौट हुने ६ जनामा नताशा एक हुन ।
नताशा चार वर्षको उमेरमा उनका माता–पितासँगै क्यानडा गइन् । १९९१ मा अविभावकहरु अष्ट्रेलिया गएपछि उनी त्यतै हुर्किएकी हुन । उनी तीन वर्ष टोकियो बस्नेछिन् । उनले भारतीय मूलका अष्ट्रेलियन नागरिक तथा सफ्टवेयर इन्जिनियर दीपक डोर्वीसँग विवाह गरेकी छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्