सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्ता छन, नेपाल टुक्र्याउने राउतका ८ प्रस्ताव

स्वतन्त्र मधेश गठबन्धनले तयार पारेको मधेश प्रोफाइलमा उल्लेख भएअनुसार तराई क्षेत्रलाई नेपाल सरकारले सँधै विभेद गरेको भनिएको छ । सिके राउत प्रमुख रहेको गठबन्धनको अन्तिम लक्ष्य ‘स्वतन्त्र मधेश’ भनिएको छ भने मधेशको छुट्टै झण्डा र राष्ट्रिय गानसमेत सार्वजनिक गरिएको छ ।

तराईका जनतालाई आर्थिक, सामाजिक तथा जातीय रुपमा विभेदमा पारेको, अवसरबाट वञ्चित गरेको र विकासबाट पछि पारेको लगायतका आरोप लगाउँदै मधेश र मधेशीहरुको विकासका लागि स्वतन्त्र मधेशको आवश्यकता रहेको र त्यसैका लागि स्वतन्त्र मधेश गठबन्धन अभियान सुरु गरिएको उल्लेख गरिएको छ ।

यस्तो छ सीके राउतको परीचय
मधेशलाई स्वतन्त्र बनाउनुपर्छ भन्दै हिँड्ने सीके (चन्द्रकान्त) राउत सप्तरी जिल्लाका बासिन्दा हुन् । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी अध्ययन पुरा गरेका उनी अमेरिकामा वैज्ञानिकको रुपमा काम गर्दागर्दै सन् २०११ मा नेपाल फर्किएका हुन् ।

त्यसपछि उनले एकाएक मधेशमाथि विभेद भएको भन्दै स्वतन्त्र मधेशको पक्षमा वकालत गर्दै आएका छन् । तराई क्षेत्रमा खासै जनसम्बन्ध विस्तार गर्न नसकेका राउत नेपालको राष्ट्रिय स्वाधिनताका लागि वीष वृक्ष बन्ने निश्चित छ ।

यस्ता छन, नेपाल टुक्र्याउने राउतका ८ बुँदा
१. मधेशलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेश सरकार बनाउने । जसले राज्यको संक्रमणकालको व्यवस्थापन, प्रशासन निर्माण तथा निर्वाचन गरेर संविधानको मस्यौदा तयार पार्नेछ ।
२. नेपाली आधिपत्य सहितको प्रशासनिक संयन्त्र हटाएर मधेश प्रशासनको स्थापना गर्ने ।
३. नेपाली सेनालाई मधेशबाट हटाएर मधेशी सेनाको स्थापना गर्ने ।
४. सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हटाएर मधेशी प्रहरीको स्थापना गर्ने ।
५. नेपाल सरकारले मधेशबाट उठाउने गरेका सबै ट्याक्स बन्द गराउने ।
६. मधेशीबाट लिएको भूमि फिर्ता गराउने ।
७. मधेशमा रहेको जमिन, पानी, वन तथा अन्य प्राकृतिक स्रोतमाथिको नेपाल सरकारको नियन्त्रण हटाउने, तथा
८. संयुक्त राष्ट्र संघ तथा विश्वका अन्य सार्वभौम मुलुकहरुमा कूटनीतिक तथा कन्सुलर कार्यालय सञ्चालनका लागि पहल गर्ने लगायत रहेका छन् ।

नेपाल टुक्र्याउन राउत नामको बिरुवा कसरी रोपियो ?
तराईलाई काठमाडौंको विकाससँग तुलना गरी तराई पछि परेको भन्दै यसलाई विभेदको रुपमा लिँदै आएको तराईको राजनीतिक नेतृत्वका कारण पहिलेदेखि नै तराई क्षेत्र आन्दोलित हुँदै आएको छ ।

तराईको तुलनामा कर्णाली, हिमाल र पहाड समेत निकै विकट र पिछडिएको वास्तविकतालाई छायाँमा पार्दै तराईलाई जर्बजस्ती पछि परेको भ्रममा राख्ने प्रवृत्तिका कारण मधेशले पटक–पटक ठूला आन्दोलन ब्यहोर्दै आएको छ ।

भौतिक पूर्वाधारका आधारमा मधेश हिमाल र पहाडभन्दा अगाडि रहेको मधेशकै बुद्धिजीवीहरु पनि स्वीकार गर्छन् । तर त्यो तथ्यलाई छायाँमा पार्दै मधेश विभेदमा परेको एकतर्फी रटानका कारण तराई पटक पटक अनावश्यक रुपमा आन्दोलनको शिकार हुने गरेको छ ।

त्यही अस्थिरताको फाइदा उठाउँदै राउतलाई पूर्वी पाकिस्तान टुक्र्याउने रहमानकै शैलीमा भारतले मधेशमा बीजारोपण गरेको सहज अनुमान लगाउन सकिन्छ । यस बीचमा राउत विखण्डनकारी भूमिका निर्वाह गरेको आरोपमा पटक–पटक पक्राउ समेत परेका छन् ।

प्रहरीले पक्रिँदै छाड्दै गरेपछि राउतले आफ्ना गतिविधिप्रति सुरक्षा निकायले कडाइ नगरेको भन्दै थप सक्रियता बढाउँदै लगेका छन् । राउतका विरुद्ध विखण्डनकारी भूमिका निर्वाह गरेको भन्दै सर्वाेच्च अदालतमा समेत रिट परेको थियो ।

सर्वाेच्च अदालतका न्यायाधीशहरुले राउतले खुल्लमखुल्ला मुलुक टुक्र्याउने चेतावनी र गतिविधि गरिरहँदा पनि प्रमाण नपुगेको भन्दै सफाइ दिएका थिए । आफ्ना विखण्डनकारी गतिविधिलाई अदालतले समेत नदेखेपछि राउतलाई यस्ता गतिविधि गर्न थप बाटो खुलेको छ ।

हामीलाई प्राप्त गोप्य स्रोतका अनुसार राउतका गतिविधिमा भारतीय रअको प्रत्यक्ष सहयोग रहेको र उनका गतिविधि सामान्य हुन् भन्ने देखाउन सुरक्षा निकायका उच्च अधिकारीदेखि अदालतमा समेत रअको प्रभाव परेको छ ।

बाँकी अर्को भागमा भोली….

यो पनि पढ्नलाई सिफारीस गरिएको छ;

पाकिस्तान र नेपाल टुक्र्याउने गेम प्लानका समानता

सिके राउतलाई प्रयोग गर्दै नेपाल टुक्र्याउने तयारी

कहाँ छ सरकार ? देश टुक्र्याउने तयारीमा राउतहरु ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्