अष्ट्रेलियामा नेपाली आमाछोरीको रहस्यमय मृत्यु
अष्ट्रेलियाको मेलवर्नमा एक नेपाली महिला र उनकी ३ वर्षीया छोरीको रहस्मय मृत्यु भएको छ । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृतक ३९ वर्षीया महिला उत्तरी मेलवर्नको पास्के भेलस्थित अस्कानासी एभिन्यूमा आफ्नो श्रीमान र छोरीसँग बस्ने गर्थिन् ।
उनीहरुका एक छिमेकीले आइतबार एक पुरुष अत्तालिँदै बाहिर दौडिरहेको आफूले देखेको बताएका छन् । उनी मृतक महिलाका श्रीमान हुनसक्ने अनुमान गरिएको छ । ती १८ वर्षीय छिमेकी मोहम्मद असदले हेराल्ड सनसित भनेका छन–‘उनी चुपचाप आएर घरभित्र पसे अनि एकछिनपछि चिच्याउँदै बाहिर निस्के ।’
छिमेकी असदले सो परिवारमा यसअघि कुनै झैझगडा भएको आफूले थाहा नपाएको बताएका छन । सोही दिन बेलुकी ५ः३० बजे प्रहरीको आपतकालिन टोली घटनास्थलमा आइपुगेको थियो । सिरले नाम गरेकी मृतक महिलाले नजिकै मिल्क बार चलाउने गर्थिन् ।
यो परिवार पाँच वर्षदेखि त्यहाँ बस्दै आएको थियो । शनिबार दिउँसो घरभित्रबाट मानिसहरु कराएको आवाज आएको छिमेकीहरुले बताएका छन् । मृत्युको खास कारण पत्ता लागेको छैन । प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन ।
भिक्टोरियाका प्रहरी आयुक्त ग्राहम आस्टोनले यस घटनामा बाहिरी व्यक्ति जोडिएको अहिलेसम्म नपाइएको बताएका छन । उनले घटनालाई भयानक दुखान्तको संज्ञा दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्