सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्ववियुको निर्वाचन सुरु, आज मतदाताको नामावली

आज (आईतवार)देखि त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया औपचारिक रुपमा सुरु भएको छ । विश्व विद्यालयले फागुन १४ गते गर्न लागेको स्ववियु निर्वाचनका लागि आज (आइतबार) मतदाता नामावली प्रकाशन गरिँदैछ ।

विभिन्न क्यापसमा विद्यार्थी भर्ना समबन्धी विवाद सुल्झिएपछि त्रिविले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्न लागेको हो । शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नामावली सार्वजनिक गर्ने गरी विद्यार्थी संगठनबीच सहमति जुटेको छ ।

स्ववियु निर्वाचन तालिका अनुसार आइतबार मतदाता नामावली प्रकाशन भएपछि फागुन ४ गते उम्मेद्वारको मनोयन पत्र दर्ता गर्ने र ५ गते उम्मेद्वारको नामावली प्रकाशन हुनेछ । उम्मेद्वारमाथि परेको दाबी विरोधपछि फागुन ८ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

स्ववियु चुनावमा सभापति, कोषाध्यक्ष र सचिवका लागि प्रत्यक्ष निर्वाचन हुने छ भने अरु पदका लागि समानुपातिक आधारमा चुनिने छन् । काठमाडौंको त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स क्याम्पस लगायतमा फर्जी विद्यार्थी भर्ना सम्बन्धी विवाद बढेको थियो । यद्यपि, अँझै केही क्याम्पसहरुमा भने विद्यार्थी भर्ना सम्बन्धी विवाद सुल्झिसकेको छैन ।

त्रिविले विद्यार्थी भर्ना सम्बन्धी विवाद बढेपछि छानविनका लागि तीन सदस्यीय छानविन समिति समेत बनाएको छ । क्रियाशील १० विद्यार्थी संगठनबीच तोकिएकै समयमा निर्वाचन गर्ने र निर्वाचनमा सहभागिता जनाउने शनिबार सहमति भएको छ । यसअघि स्ववियु निर्वाचन पूर्ण समानुपातिक र समावेशी हुनुपर्ने भन्दै केही विद्यार्थी संगठनले आन्दोलन गरिरहेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्