जयबहादुर चन्द नेपाल प्रहरीको आईजीपीमा नियुक्त
लामो विवाद र रस्साकस्सीका बिच सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आज (आइतबार) बिहान बसेको मन्त्रिपरिषद बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आईजीपीका दाबेदार चार जना डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए । पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अर्याल छन भने चन्द पछी बमबहादुर भण्डारी छन । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा चन्दलाई प्रहरी प्रमुख बनाइएको हो । आफ्ना ४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै चन्द नेपालको २५ औं आईजिपी बन्न सफल भएका छन् ।
चन्दले हाल लागुऔषध ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । उनी १४ महिना नेपाल प्रहरी प्रमुखका रूपमा रहनेछन । चन्द वि.सं. २०४४ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनी अनुसन्धानमा दख्खल राख्छन् ।
नवराज सिलवाल र जयबहादुर चन्द मध्ये कसलाई प्रहरी प्रमुख बनाउने भन्नेबारे शनिवार साँझ कांग्रेस सभापती देउवा, प्रधानमन्त्री दाहाल र गृहमन्त्रीबिच बालुवाटारमा लामो छलफल भएको थियो । आईतबार बिहान २० मिनेट बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र र नेपाल प्रहरीको आईजीपीको टुङ्गो लगाएको हो ।
अन्तिम समसयम्म देउवाले चन्दलाई प्रहरी प्रमुख बनाउनपर्ने अडान राखेपछि नवराज सिलवालको पक्षमा रहेका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधी पछि हट्न बाध्य भएका थिए । सोमबार देखी प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहित अन्य एआईजीहरु समेत अनिवार्य अवकासका कारण घर जान लागेको हुनाले सरकारले डिआईजी मध्येबाट प्रहरी प्रमुख छानेको हो ।
मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखका लागि श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए । माओवादीको भागमा परेको सशस्त्रको महानिरिक्षकमा सरकारले पहिलो वरियताका श्रेष्ठलाई नियुक्त गरेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्