सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्ववियु निर्वाचन उम्मेद्वारी दर्ता, क्याम्पसमा तालाबन्दी

आठ वर्ष पछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा आज उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् । संशोधित कार्यतालिका अनुसार आज शनिबार सार्बजनिक विदा भए पनि स्ववियु चुनावका लागी काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल सँस्कृत विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ । हरेक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यसपटक आठ वर्ष पछि हुँदैछ । स्ववियु निर्वाचनको ईतिहाँसमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रीत चुनाव प्रणाली अपनाइँदैछ ।

निर्वाचनको सुरक्षाका लागि क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्रिभुवन विश्वविद्यालयले सार्बजनिक गरेको कार्यतालिका अनुसार फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ । १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय र पाँच बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

विद्यार्थी भर्ना लगायतका विवादका कारण केही क्याम्पसहरुमा आगजनी र तालाबन्दी भएका छन् । भर्ना विवादका कारण त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । मिनभवन क्याम्पसमा फोरम लोकतान्त्रिकका विद्यार्थीहरुले शुक्रबार राति लेखा शाखामा आगजनी गरिदिएका छन् ।

आगजनीका कारण करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ । सो क्याम्पसमा पनि स्ववियु निर्वाचन अनिश्चित भएको छ । विश्वभाषा क्याम्पस काठमाण्डौमा वैद्य माओवादी निकट अखिल क्रान्तिकारीले विद्यार्थीको रजिष्टर जलाएको छ । स्ववियु चुनावको लागि विद्यार्थी परिचयपत्र वितरण भइरहेका बेला क्रान्तिकारी निकट विद्यार्थीहरुले रजिष्टर खोसेर आगजनी गरेका थिए ।

त्रिवि अन्र्तगत ६० आंगिक क्याम्पसमध्ये काठमाडौं उपत्यकामा मात्रै २२ क्याम्पस छन् । ति मध्ये करिब डेढ दर्जन क्याम्पसमा बिभिन्न विवादहरु सिर्जना भएका छन् । अन्य क्याम्पसहरुमा भने निर्वाचन प्रक्रिया निर्वाध रुपले अघि बढिरहेको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बताएका छन । उनले भने–‘सबै क्याम्पसमा होइन, केहीमा समस्या छन् । समस्या समाधानको पहल भइरहेको छ ।’

स्ववियु निर्वाचन नजिकिएसँगै बिभिन्न माग राख्दै विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सात विद्यार्थी संगठनहरुले शुक्रबार तालाबन्दी गरेका छन् । पाटन संयुक्त क्याम्पसमा पनि तालाबन्दी भएको छ ।

क्याम्पसमा गरिएको एकमुष्ठ विद्यार्थीको फर्जी भर्ना खारेज गर्नुपर्ने, तीन विद्यार्थी संगठन (नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी)को सिण्डीकेट खारेज हुनुपर्ने लगायतका माग राखी तालाबन्दी गएकिो हो । अखिल क्रान्तिकारी (मोहन वैद्य), अखिल क्रन्तिकारी (विप्लव), नयाँ शक्ति विद्यार्थी युनियन लगायतले ताला लगाएका हुन् ।

यसैगरी डोल्पा सदरमुकाम दुनैस्थित डोल्पो क्याम्पसमा पनि तीन दिनदेखि तालाबन्दी छ । गुल्मीको रुद्रावती बहुमुखी क्याम्पसमा लगाइएको ताला पनि खुलेको छैन । संविधान संशोधन विना स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको भन्दै असन्तुष्ट मधेस केन्द्रित दल निकट विद्यार्थीहरुले तराई मधेसका क्याम्पसहरुमा तालाबन्दी गरेका छन् ।

दुई नम्बर प्रदेश अन्तर्गतका आठ जिल्लाहरुका प्रमुख क्याम्पसहरुमा ताला लगाइएको छ । धनुषा, महोत्तरी, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट लगायत जिल्लाका क्याम्पसहरुमा मधेस केन्द्रित दल निकट विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । उनीहरुले स्ववियु निर्वाचन हुन नदिने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्