चीनले दियो ११८ जना नेपालीलाई ग्रिनकार्ड
चीनले नेपाली नागरिकलाई आवासीय अनुमतिपत्र ‘ग्रिनकार्ड’ उपलब्ध गराउन थालेको छ । उत्तरी छिमेकीले नेपालीलाई ग्रिनकार्ड दिएको यो नै पहिलोपटक भएको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका अधिकारीले बताएका छन । चीनको स्वशासित क्षेत्र तिब्बतमा लामो समयदेखि विभिन्न पेसा–व्यवसायमा संलग्न रही बसोबास गरिरहेका नेपालीले ग्रिनकार्ड पाएका हुन् ।
उनीहरूलाई स्थानीय भाषामा ‘खचेरा’ भनिन्छ । तिब्बतको गृह मन्त्रालयका अधिकारीले ११८ नेपालीलाई ग्रिनकार्ड उपलब्ध गराएको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताएका छन । उनका अनुसार ग्रिनकार्ड पाउने ११८ मध्ये महावाणिज्यदूतावासमा स्थानीय कर्मचारीका रूपमा काम गर्ने दुईजना नेपालीसमेत छन ।
तिब्बतका सुरक्षा अधिकारीले सार्वजनिक कार्यक्रम गरी ग्रिनकार्ड दिएका हुन् । महावाणिज्यदुत कार्कीका अनुसार चीनले उलपब्ध गराएको ग्रिनकार्डको अवधि दस वर्ष रहनेछ । ग्रिनकार्ड पाएपछि उनीहरूले स्वास्थ्य उपचार, बिमा लगायत सुविधा चिनियाँ नागरिकसरह पाउने छन ।
नेपाली राहदानीको म्याद दस वर्ष बहाल रहने हुँदा सोहीअनुसार ती नेपालीले तिब्बतमा दस बर्से बसोबास अनुमतिपत्र पाएको कार्कीले बताएका छन । ग्रिनकार्ड पाए पनि नेपालीले चिनियाँ नागरिकसरह कुनै राजनीतिक अधिकार चाहिँ पाउँदैनन ।
नेपालीहरू यसरी ग्रिनकार्ड लिएपछि वर्षको ९ महिना अनिवार्य तिब्बत बसेकै हुनुपर्नेछ । वर्षका बाँकी तीन महिना उनीहरू तिब्बतबाट बाहिर जान पाउँछन् । तिब्बतमा हाल एक सय ७० जना हाराहारी ‘खचेरा’ रहेको उपवाणिज्यदूत पुरुषोत्तम ढुंगेलले बताए ।
नेपालीलाई ग्रिनकार्ड दिइएको सम्बन्धमा चीनले नेपाल सरकारलाई चाँडै जानकारी गराउने भएको छ । चिनियाँ अधिकारीले ग्रिनकार्ड पाउने नेपालीमध्ये अधिकांश तिब्बतमै जन्मेकाहरू रहेको चाइना डेलीसँगको कुराकानीमा बताएका छन । ती नेपालीसँग ग्रिनकार्ड नरहेका कारण स्वास्थ्य बिमा, शैक्षिक अध्ययन, रोजगारी र बसोबासमा समेत अनेक झमेला झेल्नुपर्ने बाध्यता थियो ।
तिब्बतमा ग्रिनकार्ड पाएका रत्नकुमार तुलाधरले भने–‘अब हामीले पनि स्थानीय बासिन्दासरह स्वास्थ्य बिमा पाउन सक्छौं । यो हाम्रा लागि निकै खुसीको कुरा हो । चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’ तुलाधर ३० वर्षदेखि तिब्बतमा बसेर नेपाली हस्तकला व्यापार गरिरहेका छन ।
नेपाली नागरिकका अलावा फ्रान्स र स्विट्जरल्यान्डका केही नागरिकले पनि तिब्बतमा ग्रिनकार्ड पाएका छन् । ल्हासास्थित गृह मन्त्रालयका अधिकारीले सन् २००८ देखि ३१ जना विदेशीलाई ग्रिनकार्ड दिएका थिए । सन् २००८ यता यति ठूलो संख्यामा विदेशीलाई ग्रिनकार्ड पहिलोपटक दिइएको अधिकारीहरूले बताएका छन ।
चीनले सन् २००५ देखि विदेशीलाई ग्रिनकार्ड उपलब्ध गराउन थालेको हो । अहिले चीनले ग्रिनकार्ड दिने काममा सुधार गर्न थालेको छ । चीनको केन्द्रीय गृह मन्त्रालयका अनुसार गत वर्षसम्म १,५७६ जना विदेशी नागरिकले आवासीय अनुमतिपत्र पाएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्