सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पक्राउ परे ३३ किलो सुनकाण्डका ४ नाईके

अन्र्तराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो ।

सिआइबीका अनुसार उनीहरू ५६ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए । पक्राउ परेकामध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपालकै सुन पसलमा बेच्दै आएका थिए । उनीहरूमाथिको अनुसन्धानबाट सुनपसलको पनि पहिचान हुने प्रहरीले जनाएको छ ।

सिआइबी निर्देशक डिआइजी नवराज सिलवालले तस्करीमा संलग्न थप व्यक्तिलाई पक्राउ गरिएको बताएका छन । ‘सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘आइतबारसम्म अनुसन्धान पूरा गरी मुद्दा दायरको प्रक्रियामा जान्छौँ ।’ मुख्य नाइके अँझै फरार छन ।

तस्करीमा संलग्न प्रमोद श्रेष्ठ लगायत व्यापारी दुबईमा रहेको प्रहरी स्रोतले बतायो । एयरपोर्टका भन्सार कर्मचारी तथा प्रहरीको मिलेमतोमा लामो समयदेखि दुबईबाट नेपालमा सुन तस्करी हुँदै आएको थियो । सिआइबीले गत २१ पुसमा दुबईबाट त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो सुन बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा भन्सार र प्रहरीकै मिलेमतो रहेको खुलेपछि एयरपोर्टका प्रहरी र भन्सारका कर्मचारीसमेत पक्राउ परेका छन् । एसएसपी श्याम खत्री सुन तस्करीको मिलेमतोकै आरोपमा सिआइबी हिरासतमा छन् । भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन् ।

तस्करीमा संलग्न भएको आरोपमा विभागका ६ कर्मचारी निलम्बनमा परेका छन् भने अरू ३० जनालाई जिम्मेवारीबाट हटाई विभागमा हाजिर गराइएको छ । पक्राउ परेका सबैलाई संगठित अपराध मुद्दामा सिआइबीले अनुसन्धान गरिरहेको छ ।

विगतमा सुन बरामद भए लगत्तै भन्सार तथा राजस्व कार्यालयमा बुझाउने गरिएकोमा यसपटक प्रहरीले उनीहरूमाथि संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएकाले सञ्जालमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् । तस्करका मुख्य एजेन्ट रामकृष्ण कार्की पनि सिआइबी हिरासत छन् ।

सुन तस्करीमा भरियाका रूपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई २१ पुसमै सिआइबीले पक्राउ गरेको थियो । मुख्य एजेन्ट कार्कीले उत्तरढोकास्थित दरबार दोहोरी साँझबाट विभिन्न सुनपसलमा त्यसरी तस्करीको सुन बिक्री गर्दै आएका थिए ।

तस्करी गरेर भित्र्याउँदा एक किलो सुनमा व्यापारीले आठ लाख रुपैयाँसम्म नाफा कमाउने गरेका छन् । उनीहरूले एकैपटकमा ३० किलो सुनसम्म विमानस्थलबाट भित्र्याउने गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्