सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

स्थानिय चुनाव ध्वस्त पार्ने विप्लवको घोषणा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । अहिले घोषणा गरेको स्थानीय चुनावलाई २० वर्ष अगाडि नै प्रचण्डकै नेतृत्वमा ध्वस्त पारिएको भन्दै विप्लवले चुनावलाई आफ्नो पार्टीले मान्यता नदिने बताएका हुन् ।

पार्टीको आठौँ महाधिवेशनले लिएका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा महासचिव विप्लवले पुरानै चुनाव बोकेर आउने प्रचण्डलाई पुरानै तरिकाबाट जवाफ फर्काउने चेतावनी दिए ।

‘२०÷२२ वर्षपछाडि त्यही चुनाव बोकेर प्रचण्डजी आएपछि हामीले त्यसलाई कसरी बुझ्ने ? पुरानै चुनाव बोकेर आउने प्रचण्डजीसँग त्यस्तै हुन्छ,’ विप्लवले भने, ‘यही चुनावलाई ०५४ सालमा फिर्ता गर्यौँ, ०५६ मा ध्वस्त बनायौँ, ०६१ मा पनि ध्वस्त बनायौँ ।’

उनले सरकारले ३१ वैशाखमा घोषणा गरेको चुनावलाई सिद्धिएको व्यवस्थालाई पुर्नजिवित गराउने कोरा कल्पना मात्र भएको टिप्पणी गरेका छन । ‘सिद्धिएको व्यवस्थालाई अथवा मुर्दालाई आर्यघाटबाट ल्याएर राखेर हुन्छ ?’ विप्लवले थपे, ‘यो प्रतिस्पर्धा हो, उहाँहरूले आफ्नो तरिकाबाट त्यसको तयारी गर्नुहोला, हामी आफ्नो तरिकाले त्यसलाई ध्वस्त बनाउनेछौँ ।’

यद्यपि, उनले आफूहरू चुनावको विरोधी भने नभएको पनि प्रस्ट्याएका छन । ‘हामी चुनाव विरोधी होइनौँ, जनयुद्धका क्रममै पनि आधार इलाकाहरूमा जनप्रतिनिधिहरूको चुनाव गरेर दुई सत्ताको अभ्यास गरेका थियौँ,’ विप्लवको भनाइ थियो ।

विप्लवले आफ्नो पार्टी संघीयताको विरोधी नभएको पनि बताएका छन । पुरानै सत्ताको चरित्रमा संघीयता मात्र थप गरेर त्यसले उत्पीडित जाति, क्षेत्र र लिंगका जनताको हितमा कुनै काम नहुने उनको दाबी छ ।

‘रक्सी पुरानै, तर बोतल मात्र नयाँ भनेजस्तो मात्र हो यो अहिले दलहरूले भनिरहेको संघीयता,’ विप्लवले भने, ‘सत्ता दलाल पुँजीपति चरित्रको हुने र त्यसमा संघीयता मात्र थप गरेर उत्पीडनको अन्त्य हुन्छ भन्ने सत्य होइन ।’

राज्यको संरचना माओवादीले जनयुद्धका क्रममा अवलम्बन गरेको स्वायत्त प्रदेश निर्माणअनुसारकै सही रहेको उनको भनाइ थियो । आठौँ महाधिवशेनले नेकपा (माओवादी) बाट पार्टीको नाम फेरेको छ । उसले नेपाल कम्युनिस्ट पार्टी मात्र नाम राखेको छ । विप्लवलाई महासचिवमा चयन गर्दै ८१ सदस्यीय केन्द्र्रीय समिति गठन गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS