सेल्फी र मदिरा निशेध, दैनिक हाजीर; एमाले निर्देशन
एमालेको तराई केन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु हुँदै छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान; राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको काकडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन् ।
अभियानमा सहभागी हुन आह्वान गर्दै एमाले कार्यकर्ताले नेपाली, भोजपुरी, मैथली, अवधी, थारू र डोट्याल गरी ६ भाषाको अपिलसहित घरदैलो गरिरहेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघको अगुवाइमा तराईका मातृभाषाहरूमा देशभक्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षमा सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ ।
एमालेले अभियानमा सहभागी हुने नेता–कार्यकर्ताका लागि १८ बुँदे तथा स्वयंसेवकका लागि नौबुँदे आचारसंहिता जारी गरेको छ । उनीहरूले दैनिक हाजिरी पुस्तिकामा हाजिर गर्नुपर्ने, सामूहिक मेस र आवासमा रहनुपर्ने, मदिरा र धूम्रपान सेवन गर्न नपाइने लगायतका आचारसंहिता पालना गर्नुपर्नेछ ।
तराईवासीलाई अपाच्य हुने, बिझाउने या अनुचित लाग्ने कुनै कामकुरा गर्न निषेध गरिएको आचारसंहितामा छ । प्रवचन, सांस्कृतिक प्रस्तुति लगायत कुनै वेला पनि कसैको भावनामा ठेस पुग्ने बोलीवचन, आचरण निषेध गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्