नयाँ वर्षमा ‘एङ्ग्री वर्ड’ अर्थात रिसाएको चरा
साहित्यकार जितेन्द्र रसिकको सातौं साहित्यिक कृति बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ सार्वजनिक भएको छ । अङ्ग्रेजी भाषामा उक्त कथा सङ्ग्रह सार्वजनिक गरिएको हो । स्वदेश प्रकाशन प्रालीले प्रकाशन गरेको अंग्रेजी बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ बालबालिकाको रुचीलाई ध्यानमा राखेर लेखिएको आधुुनिक बालकथा संग्रह भएको स्वदेश प्रकाशन प्रालीले बताएको छ ।
बालकथा सङग्रहमा आवरण कथा ‘एङ्ग्री वर्ड’, फ्रेण्डसिप विथ रोवोर्ट, लाफिङ पेन एण्ड विपिङ कपि, कैले एण्ड सिँगौरी, पिग्गी बैंक लगायतका ११ वटा कथा सङ्ग्रहित छन् । बालबालिकालाई पुरानै धर्राका कथाहरु नभएर समय र कालखण्ड अनुरुप उनीहरूको मनोविज्ञान बुझेर फरक खालका कथाहरु ‘एङ्ग्री वर्ड’ मा समावेश गरिएको छ ।
आधुनिक प्रविधि सँग नजिक रहेका बालबालिकाको सोच्ने र मनन गर्ने शैली समेत फेरिएकाले अबका बालकथा पुरानो शैलीबाट टाढा रहेर फरक धारमा फरक तरिकाको कथा लेखनको आवश्यकता रहेको रसिकले बताएका छन । कथा सङग्रह ‘एङ्ग्री वर्ड’ मा फरक सन्दर्भलाई फरक तरिकाले प्रस्तुत गरिएकाले बालबालिका लागि यो बालकथा सङ्ग्रह उपयोगी देखिन्छ ।
लज्जावती उपन्यास का लेखक रसिकका यस अघि बालकथा सङ्ग्रह ‘एलिएनको पृथ्वी भ्रमण’ सचित्र बालकथा ‘हावा फल्ने रुख’ प्रकाशित छन् भने गजल संग्रहहरु काफिया, हृदयस्पर्शी छालहरु र फाँचल संग्रह तारापुञ्ज पनि प्रकाशित छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्