सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्ता छन; साझा पार्टी ललीतपुरका उम्मेद्वार

काठमाडौं महानगरपालिकामा मेयर र उपमेयरमा उम्मेद्वारी घोषणा गरेको रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले ललितपुर महानगरपालिकामा पनि उम्मेद्वारी घोषणा गरेको छ ।

साझा पार्टीका केन्द्रीय संयोजन समितिका सदस्य रमेश महर्जनले मेयर तथा शोभा शाक्यले उपमेयरका लागि उमेद्वारी घोषणा गरेका हुन् । कृषक परिवारमा जन्मिएर रत्न आभुषण व्यवसायमा लागेका ५३ वर्षीय रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुन् ।

उनी नेपाल चेम्बर अफ कमर्सको कार्य समितिका सदस्य पनि हुन् । अध्यात्म र समाजसेवाप्रति झुकाव राख्ने महर्जनले विसं २०७२ को महाभूकम्पपछि पाटनको पिलाँछेलाई पर्यटन र सँस्कृतिको केन्द्र बनाउने अठोट गरेर स्थानीयवासीको सहभागीतामा झण्डै १०० भवनलाई परम्परागत नेवार वास्तुकलामा पुनर्निर्माण गर्ने कार्यको नेतृत्व गरिरहेको साझा पार्टीले जनाएको छ ।

महर्जनले आफ्नी आामाको नाममा परोपकारी संस्था माया फाउण्डेशन स्थापना समेत गरेका छन् भने उनी लुम्विनि बौद्ध विश्वविद्यालय तथा अपांगता सेवा संघ, खोकनासँग पनि आवद्ध छन् ।

पाटनको रूद्रवर्ण महाविहार परिसरमा जन्म भएकी ५४ वर्षीय शोभा शाक्य पनि धार्मिक तथा सामाजिक कार्यमा भिजेकी छिन् । बुवा बहादुर शाक्यबाट असल नेतृत्व क्षमता सिकेको बताउने शाक्य हाल शाक्यसिंह विहारकी उपाध्यक्ष छिन ।

शाक्यले पाटन औद्योगिक क्षेत्रमा रहेको आफ्नो उन तथा हस्तबुनाई कारखानामा ५०० भन्दा बढी महिला कामदारलाई रोजगारी दिएकी छिन् । महिला उत्थानमा सानैदेखि गहिरो भावना राख्ने शाक्यले ठैना महिला समूह जस्ता कैयन संस्था मार्फत महिलाको सशक्तिकरण तथा उद्यम विकासमा ठुलो योगदान पुर्याएकि छिन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्